वीरगन्ज | उचित मुआब्जाको माग राख्दै आन्दोलमा उत्रिएका स्थानीयवासीले प्रहरीमाथि कुटपिट गरेका छन् ।
उचित मुआब्जाको माग राख्दै हिजो (आइतबार) वीरगन्ज २५ सिर्सियाका स्थानियले गरेको आन्दोलनमा सादा पोसाकमा खटेका क्राईम टोलीका एक जना प्रहरीले हतियार तेर्साउँदा उनी कुटिएका हुन् । प्रदर्शनका क्रममा स्थानियल पसल, बजार बन्द गराउँदा चियापसलमा चिया खाइरहेको क्राईम टोलीका जवान फिरोजसँग विवाद भएको थियो । विवादका क्रममा प्रहरी जवान फिरोजले आन्दोलनकारीमाथि पेस्तोल तेर्साएपछि उनी कुटिएका थिए ।
गाउँ अधिग्रहण विरुद्धको गठित संघर्ष समितिका उपाध्यक्ष भिखा चौधरीले भने– ‘हामी पसल बन्द गराई रहेका थियौं, पसलमा चिया खाइरहेको फिरोजले आफू चालक रहेको भन्दै पसल बन्द नगर्ने भनेपछि विवाद हुँदा उनले आन्दोलनकारीमाथि हातपात गरे । हातपात गर्दै उनले पेस्तोल तेर्साए । त्यसपछि उनी आन्दोलनकारीबाट कुटिएका हुन् ।’
गाउँ अधिग्रहणविरुद्धको गठित संघर्ष समितिले ड्राईपोर्ट (सुख्खा बन्दरगाहा) पूर्ण रुपमा ठप्प पारी गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पुनः झडप भएको थियो ।
आन्दोलनकारीले पूर्व पश्चिम तराई मधेशको लाईफ लाईनको रुपमा रहेको हुलाकी सडक अवरोध गरी टायर बाली प्रदर्शनमा उत्रेकापछि झडप भएको हो । सडकमा पोल तेस्राएर आन्दोलन गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक दिपक साहको कमाण्डमा रहेको प्रहरी टोलीले हटाउन खोजेपछि विवाद भएको थियो ।
झडपमा आधा दर्जनभन्दा बढी प्रदर्शनकारी समान्य घाइते भएका छन् ।
आफूहरुको मागबारे गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएको एक साता भन्दा बढी भइसक्दा पनि कुनै सुनवाई नभएपछि बाध्य भएर पुनः आन्दोलनमा उत्रिनुपरेको संघर्ष समितिका अध्यक्ष ब्रहमदेव राउत कुर्मीले बताए ।
उनीहरुले तीन वर्षदेखि सरकारले आफ्नो घर जग्गा बन्धक बनाएर राखेको बताउँदै विहेबारी, उपचार, घरखर्च चलाउन, व्यवसाय गर्न वा कर्जा लिन सम्पत्ति बेच्न वा बन्धकी राखेर ऋण लिन नसकेको बताए ।
सिंगै गाउँको जग्गा करिब तीन वर्षदेखि रोक्का छ । जग्गा रोक्काले गर्दा गाउँका करिब २ सय ९७ घरधुरी बिचल्लीमा परेको भन्दै स्थानीयले आइतबारदेखि पुनः सिर्सिया सुक्खा बन्दरगाहको मुख्य ढोकाअगाडि टायर बालेर चक्का जाम गर्दै प्रदर्शनमा उत्रेका हुन् । Thenepaltop