सवारी चालकहरुले पालन गर्नु पर्ने १९ नियम, पालना नगरे कारवाही
वीरगंज संजाल
२१ पुष २०७६, सोमबार १५:१५
४३०७
काठमाडौं | सार्वजनिक सवारी साधन चलाउँदा अरुलाई बाधा पुग्ने गरी ठूला आवाजमा म्युजिक घन्काइराख्नु भएको छ ? तपाइले गुडाइराख्नुभएको सवारीसाधन फोहोर त छैन नि ?
यस्ता समास्याको समाधानको लागि महानगरीय ट्रापिक प्रहरी महाशाखाले अनुगमन गरिरहेको छ । सार्वजनिक सवारी साधनमा हुने समस्या तथा गुनासोलाई मध्यनजर गर्दै महाशाखाले निरन्तर अनुगमनका लागि १९ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।
यस विषयमा सोमवार महाशाखाका प्रहरी अधिकृत, नेपाल यातायात राष्ट्रिय महासंघका प्रतिनिधिहरु, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबाहक सार्वजनिक सवारी साधनसँग सम्बन्धीत विभिन्न कम्पनीका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।
छलफलले १९ बुँदे निर्णय सार्वजनिक गरेको र यसलाई ७ दिनभित्र कार्यान्वयन गर्ने महाशाखाले जनाएको छ । १९ बुँदे कार्यान्वय भए–नभएको अनुगमन गर्नका लागि महाशाखाका प्रहरी उपरीक्षक राजकुमार वैदवारको संयोजकत्वमा यातयात व्यवसायी, मजदुर, कम्पनीका प्रतिनिधिहरु समेत गरी ८ सदस्यीय अनुगम समिति गठन गरेको छ ।
महाखाशाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले गत बिहीवार भाडाका सार्वजनिक सवारी साधनहरुमा अनुगमन समेत गरेका थिए । अनुगमनका क्रममा देखिएका समस्यालाई समाधान गर्नका लागि यस्तो व्यवस्था ल्याइएको उनले बताए ।
यस्ता छन् प्रतिवद्धताहरु :
१. तोकिएको भाडादर मात्रा लिने । २. ढोका खुला गरी नचलाउने । ३. झ्यालको अवस्था ठिक राख्ने । ४. सिटको अवस्था ठिक राख्ने । ५. आरक्षण सिटको पालना गर्ने । ६. गाडीको रंगरोगन दुरुस्त राख्ने । ७. क्षमताभन्दा बढी यात्रु नबोक्ने । ८. चालक र सहचालकले यात्रुलाई राम्रो व्यवहार गर्ने । ९. तीव्र गतिमा सवारी नचलाउने । १०. चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने । ११. चालकले मोवाइल फोन प्रयोग नगर्ने । १२. नियमित सवारीसाधनको सरसफाइ गर्ने । १३. अरुलाई बाधा पुग्ने गरी ठूला आवाजमा म्युजिक नबजाउने । १४. सवारी साधनमा स्टिकर तथा झल्लर नलगाउने । १५. सवारी साधनको अवस्था ठीक राखी चलाउने । १६. सवारी चालकले जुत्ता लगाएर मात्र सवारी चलाउने । १७. तोकिएको स्थानमा मात्र यात्रु झार्ने र चढाउने गर्ने । १८. प्रयोजनको विपरीत सवारी प्रयोग नगर्ने । १९. चालक–सहचालक भद्र तथा सोभनिय हुनुपर्ने ।