धनुषा बम विस्फाेटनका मुख्य योजनाकार ‘मोस्ट वान्टेड’ सूचीमा रहेका आदम पक्राउ
वीरगंज संजाल
१८ पुष २०७६, शुक्रबार ११:१३
३६९५
जनकपुरधाम । प्रहरी निरीक्षकसहित तीनजनाको ज्यान जानेगरी भएकाे बम बिस्फोटका मुख्य योजनाकार मानिएका आदम राइन पक्राउ परेका छन् । घटनालगत्तै फरार भइसकेका र प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका राइनलाई धनुषा प्रहरीले घटना घटेको झन्डै २२ दिनपछि पक्राउ गर्न सफल भएको हाे ।
मंसिर २७ गते धनुषाको महेन्द्रनगरमा भएको विस्फोटमा प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको ज्यान गएकाे थियाे । साे विस्फोटन घटनाका अभियुक्तहरु पत्ता लागिसकेको र पक्राउ परेका राईन विप्लव समूहका केन्द्रीय सदस्य समेत रहेको प्रहरी स्राेतले जनाएकाे छ ।
राईनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरी श्रोतले जनाएको छ । मङ्सिर २७ गते राति टाइम बम प्रयोग गरी घटना घटाउने मुख्य योजनाकारसहित संलग्न करिब ९ जनाको पहिचान भइसकेको प्रदेश- २ का प्रहरी प्रमुख डिआइजी प्रद्मकुमार कार्कीले बताउँदै आएका छन् ।
राइन पक्राउ परेको धनुषा प्रहरीले आधिकारिक जानकारी नदिए पनि धनुषा प्रहरी स्राेतले न्यूज २४ लाई आदमलाई पक्राउ गर्न सफल भएको दावा गरेकाे छ । प्राप्त जानकारी अनुसार आदमलाई प्रहरीले पौष १६ गते नै राति पक्राउ गरेको बुझिएको छ । धनुषा प्रहरीले एक-दुइ दिनभित्रै पत्रकार सम्मेलनको आयोजना गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरिररहेकाे बुझिन आएकाे छ । News 24