गाउँपालिकासँग १२ लाखको मोटरसाइकल, तर बस्तीमा घोडा हिँड्ने बाटो छैन
वीरगंज संजाल
१८ पुष २०७६, शुक्रबार ११:०६
२८४७
जुम्ला । कालिकोटको पलाँता गउँपालिकाका कुनै पनि वडाहरुमा घोडा हिँड्ने बाटो सम्म छैन । तर सडक सञ्जालबाट कहीँकतै नजोडिएको पलाँता गाउँपालिकाले भने होन्डा कम्पनीको १२ लाख २५ हजार मूल्यको मोटरसाइकल खरिद गरेको छ ।
सुर्खेतको होन्डा सोरुमबाट मोटरसाईकल किनेको ४ महिनाभन्दा धेरै भइसकेको छ । तर गाउँपालिकाको केन्द्र रहेको थिर्पुबाट पलाँता गाउँपालिकाका अन्यत्र वडाहरुमा जान ढुक्कसँग घोडेटो पनि नबनाइएको स्थानीयको गुनासो छ ।
पलाँताका खिन, उखाडी, छलाहा, जाँफे र राडुनेटालगायतका सबै गाउँहरुमा बिरामी पर्दा स्ट्रेचर बोक्न नमिलेर डोको काटेर बिरामी बोक्नुपर्ने बाध्यता छ । मोटरसाइकल गाउँपालिकामा लिन नमिल्ने भएकाले स्थानीय बासीलाई मोटरसाइकल खरिद गरेको कुरा पनि थाहा दिइएको छैन ।
विकासे बजेट काटेर गाडी र सुविधाका सवारी साधनहरु किन्ने चलन कर्णाली प्रदेशका विभिन्न गाउँपालिकामा चलिरहेका बेला यहाँको पलाँता गाउँपालिकाले पनि १२ लाख २५ हजार हालेर मोटरसाइकल खरिद गरेको हो ।
सुर्खेतबाट हुम्ला जोड्ने कर्णाली करिडोर र पलाँता गाउँपालिका बिचमा हुम्ला कर्णाली बग्ने भएकाले पुल नबनाएसम्म सडक सञ्जालसँग यो गाउँपालिका जोडिन सम्भव छैन । News 24