राजनीतिक नक्सा सच्याएका छैनौ, कालापानी हाम्रै होः भारत
वीरगंज संजाल
१८ पुष २०७६, शुक्रबार ०९:०८
२५३३
काठमाडौँ । भारत सरकारले फेरी पनि कालापानी आफ्नो भएको दावी गरेको छ । उसले नेपालसँगको सीमाका विषयमा नोभेम्बरमा जारी गरिएको नयाँ राजनीतिक नक्सामा पनि कुनै परिमार्जन नगरिएको दोर्होयाएको छ ।
भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले भारतले जारी गरेको नक्सामा भएको सम्पूर्ण भूभाग सार्वभौम भारतको भएको दाबी गरेका छन् ।
उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको तर, त्यसमा सीमा सम्बन्धमा कुनै कुरै नभएको बताएका छन् । उनले टेलिफोन संवादका क्रममा परम्परागत रुपमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने र नयाँ वर्षको शुभकामना आदानप्रदान मात्र भएको बताएका छन् ।
सीमाका विषयमा भारतको धारणा यसअघि नै स्पष्ट पारिसकेको बताउँदै उनले सीमाका विषयमा हामीले हाम्रो धारणा यसअघि नै सार्वजनिक गरिसकेका छौं भन्दै ‘म फेरि दोर्होयाउन चाहन्छु कि नयाँ नक्सामा नेपालसँगको सीमाका कुनै परिमार्जन गरिएको छैन । नयाँ राजनीतिक नक्सामा भएको भूभाग भारतको सार्वभौम भूभाग हो’।
नेपालमा भने भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेकोभन्दै चर्को विरोध भइरहेको छ । नेपाल सरकारले पनि उक्त भूभाग आफ्नो दाबी गरेको छ ।