चुनावी गठबन्धनका लागि काँग्रेस र समाजवादीले आज गर्ने भनेको छलफल स्थगित
वीरगंज संजाल
१८ पुष २०७६, शुक्रबार ०९:०६
२१७९
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले समाजवादी पार्टी नेपालसँग गठबन्धनका लागि छलफल गर्ने तयारी थालेको छ । समाजवादी पार्टीकै आग्रहमा काँग्रेस नेताहरुले आज छलफल गर्ने तयारी गरेका भएपनि डा.बाबुराम भट्टराई काठमाडौँ बाहिर रहेकाले भोली मात्रै छलफल हुने नेताहरुले बताएका छन् ।
सरकारमा उपप्रधानमन्त्री रहेका समाजवादीका अध्यक्ष उपेन्द्र यादव केही दिन अगाडी मात्रै बाहिरिएपछि उनीहरु काँग्रेसँग नजिक हुन खोजेका छन् । समाजवादी पाटीृका नेता विश्वदिप पाण्डेले आज हुनेभनिएको छलफल स्थगित भएको जानकारी दिनुभयो ।
साथै सरकार बाहिर रहेर सरकारको चर्को विरोध गर्दै आएको राजपाले केही दिन अगाडी सत्तारुढ दल नेकपासँग चुनावी तालमेलको सम्झौता गरेपछि काँग्रेससँग गठबन्धन गर्न समाजवादीलाई थप दवाव परेको हो ।
काँग्रेस र समाजवादीले भोली भागबण्डा गरेर चुनावी तालमेल गर्न सकिने की नसकिने भन्ने बारेमा प्रारम्भीक छलफल गर्ने नेताहरुले बताएका छन् ।
केन्द्रीय परिषद् अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एक साताअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सभामा गठबन्धन गरेर जाने प्रस्ताव गर्नु भएको थियो ।
कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिने निर्णय गरिसकेको छ । कांग्रेसमा उम्मेवार छान्ने संसदीय बोर्ड गठन नभएकोले पदाधिकारीलाई उक्त जिम्मेवारी दिइएको हो ।