मुग्लिन-नारायणगढ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने
वीरगंज संजाल
२७ मंसिर २०७६, शुक्रबार ११:२४
५६३७
चितवन । मुग्लिन–नारायणगढ सडक आज (शुक्रबार)देखि दुई सातासम्म दिउँसो(दिउँसो बन्द गरिने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
मुग्लिन–नारायणगढ सडक आयोजना कार्यालयको मागअनुसार पहिरो रोकथाम गर्ने कामका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस अवधिमा सो सडकमा गाडी नचलाउन चितवन प्रशासनले सम्बन्धित सबैमा आह्वान गरेको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म मुग्लिनबाट नारायणगढतर्फ जाने यात्रुबाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक गाडी लेवाटार र आबुखैरहनीमा रोक्नुपर्नेछ ।
यसैगरी मुग्लिनतर्फ आउने यात्रुबाहक सवारीसाधन १५ किलो र मालबाहक गाडी दासढुंगामा रोक्नुपर्नेछ । एम्बुलेन्स, शव वहनलगायत अत्यावश्यक सवारीसाधन भने सुरक्षा निकायको समन्वयमा आवतजावत गर्न दिइने चितवन जिल्ला प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।News 24