भारतमा नागरिकता विधेयकको चर्चो विरोध, आसाममा कर्फ्यु
वीरगंज संजाल
२६ मंसिर २०७६, बिहीबार ११:४८
५०२७
भारत |भारतको लोकसभा र राज्यसभाबाट नागरिकता संशोधन विधेयक पारिस भएसँगै विभिन्न राज्यमा विरोध प्रदर्शन भइरहेको छ ।सोमबार लोकसभाबाट पारित भइसकेको नागरिकता विधेयक बुधबार राज्यसभाबाट पनि पारित भएको हो । राज्यसभामा भएको मतदानमा विधेयकको पक्षमा १२६ र विपक्षमा १०५ मत परेको थियो ।
दुबै संसदबाट नागरिकता संशोधन विधेयक पारित भएपछि भारतका विभिन्न राज्यमा बुधबार हिंसात्मक प्रदर्शन भएको थियो ।आन्दोलन चर्किंदै गएपछि आसामको गुवाहाटीमा बुधबार साँझदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको छ । प्रदर्शनकारीले त्यहाँको चबुआ र पनीटोला रेल स्टेशनमा तोडफोड तथा आगजनी गरेका छन् ।
अन्य केही सवारी साधनमा पनि आगजनी भएको छ ।त्यस्तै आसामका मुख्यमन्त्री सर्वानन्द सोनोवालको घरमा प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका छन् । साथै आसामका केन्द्रीय मन्त्री रामेश्वर तेलीको घरमा हमला भएको छ ।त्रिपुरामा समेत विधेयकको विरोध गर्दै प्रदर्शन भएपछि सेना तैनाथ गरिएको छ ।
स्थानीय प्रशासनले सेनालाई उच्च सतर्कतामा राखेको भारतीय समाचार माध्यमले उल्लेख गरेका छन् ।आसामको गुवाहाटी, राजधानी दिसपुर तथा संकटग्रस्त क्षेत्रमा केन्द्रीय १० कम्पनी अर्धसैनिक बल र राज्य सुरक्षा बल तैनाथ गरिएको छ । डिब्रुगढ र तिनसुकिया रेल स्टेशनमा उच्च सतर्कता अपनाइएको छ ।
कतिपय जिल्लामा इन्टरनेट सेवासमेत बन्द गरिएको छ।दुबै सदनबाट पारित भएको नागरिकता विधेयकमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानका हिन्दू, जैन, इसाइ, शिख र फारसी समुदायलाई भारतीय नागरिकता दिने व्यवस्था गरिएको छ ।उत्तर पूर्वोत्तर राज्यका आदिवासीले बाहिरबाट आएकालाई नागरिकता दिँदा आफ्नो पहिचान र जीविका खतरामा पर्ने भन्दै विरोध जनाएका हुन् ।nepalpostdaily