काठमाडौ | मौसम पुर्वानुमान शाखाले पश्चिमी वायुको प्रभावले बिहीबार बिहानैदेखि देशभरको मौसममा बदली आउने भएकाले सर्तकता अपनाउन आग्रह गरेको छ । विशेष वुलेटिन प्रकाशन गर्दै मौसम पुर्वानुमान शाखाले यस्तो आग्रह गरेको छ । इरान, अफगानिस्तान, पाकिस्तान, जम्मु–कस्मिर हुँदै पश्चिमी वायु बुधबार साँझ पश्चिम नेपाल प्रवेश गरेको छ ।
सोही वायुको प्रभावले बिहीबार बिहानैदेखि बादल देखिएको छ भने चिसो बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा बुधबार साँझ नेपालको पश्चिमी भुभागबाट न्युनचापीय प्रणाली प्रवेश भएकाले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ।
‘यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ। nepal live