काठमाडौं (अस) । पशु कल्याण संघ, नेपालले गढीमाई मेलामा पशुबलि रोक्नका लागि अपिल गरेको छ । पशुबलीलाई निरुत्साहित गर्ने उद्देश्यअनुरूप संघले विभिन्न अभियान सञ्चालन गरेर बलि रोक्न अपिल गरेको हो ।
‘रक्तपातरहित गढीमाई’ र ‘बलि अन्धविश्वासको गरौं, न कि निर्दोषको पशुको’ भन्ने मूल अभिप्रायका साथ संघले आफ्नो अभियानलाई तीव्र बनाएको बताएको छ । संघले बारा, पर्सा र रौतहटका साथै नेपाल–भारत सीमा क्षेत्रमा सरकार तथा सरोकारवाला निकायसँगको सहकार्यमा पशुबलि निरुत्साहनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ ।
सर्वोच्च अदालतले धर्मका नाममा हुने पशुबलि निरुत्साहन गर्नु भनी गरेको फैसलालाई समेत अटेर गरी मेलामा बलि दिने परम्परालाई निरन्तरता दिइएकोप्रति संघले दुःख व्यक्त गरेको छ ।
आइतवार पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार संघले पशुबलि विरुद्धको अभियानको महत्त्व, प्रभावकारिता र सार्थकताका लागि पशु सेवा विभाग, महागढीमाई नगरपालिका, पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन मूल समिति तथा जिल्ला प्रशासन कार्यालय बारालगायत निकायसँग छलफल गरेको थियो । छलफलमा पशुबलि निरुत्साहन गर्ने प्रतिबद्धता जनाइए पनि नरोकिएकोप्रति संघले दुःख व्यक्त गरेको हो ।
हरेक ५/५ वर्षको अन्तरमा लाग्ने चर्चित गढीमाई मेला यस वर्ष मंसिर १ गतेदेखि शुरू भएको छ । मेलामा पशुबलिको अन्त्य गर्न पशु अधिकारकर्मीले अपिल गर्दै आए पनि बलि प्रथा रोकिएको छैन ।
बलिका लागि प्रसिद्ध गढीमाईमा बोकाका लागि ४ हजार रुपैयाँ र राँगाका लागि ८ हजार रुपैयाँ तिरेपछि बलि दिनुनपर्ने विकल्प समेत दिइएको छ ।