एमबिबिएस र नर्सिङका विद्यार्थीले आइतबारको परीक्षा पनि दिएनन्
वीरगंज संजाल
२३ मंसिर २०७६, सोमबार ०९:१५
५३४१
चितवन | सरकारले तोकेभन्दा बढी शुल्क असुलीको विरोधमा आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीले आइतबारको वार्षिक परीक्षा पनि बहिष्कार गरेका छन् । चितवन, नेसनल, युनिभर्सल र गण्डकी मेडिकल कलेजका विद्यार्थीले बहिष्कार गरेका हुन् ।
आइतबार एमबिबिएस र नर्सिङको पहिलो वर्षका विद्यार्थीको परीक्षा थियो । परीक्षा बहिष्कार गरेका चितवन मेडिकल कलेजका विद्यार्थीले दिउँसो मुखमा कालोपट्टी बाँधेर धर्नासमेत दिए । गण्डकीमा केही विद्यार्थीले भने परीक्षा दिएका छन् । गत बिहीबार पनि चारवटै कलेजका एमबिबिएस विद्यार्थीले बहिष्कार गर्दा गण्डकीमा प्रिन्सिपल र सिइओका छोराछोरीसहित पाँचजनाले मात्रै परीक्षा दिएका थिए ।
१० मंसिरमा सरकारले मेडिकल कलेजसँग गरेको सहमतिले आफूहरूमाथि अन्याय भएको भन्दै विद्यार्थी आन्दोलनमा छन् ।
शैक्षिक सत्र ०७४/७५ र ०७५/७६ मा भर्ना भएका बिडिएस र एमबिबिएसका विद्यार्थीसँग उठाएको बढी शुल्क फिर्ता गर्ने गरी सरकार र कलेज सञ्चालकबीच सहमति भएको थियो । ०७२/७३ र ०७३/७४ मा भर्ना भएका विद्यार्थीको शुल्क फिर्ताका सम्बन्धमा निर्णय गर्ने अधिकार चिकित्सा शिक्षा आयोगलाई दिएको थियो । विद्यार्थीले चारवटै वर्षका सबै विषयका विद्यार्थीसँग उठाएको शुल्क फिर्ता हुनुपर्ने माग गर्दै आएका छन् । नयाँ पत्रिकामा खबर छ ।