एजेन्सी । हरेक दिन हामी घण्टौँ इन्टरनेटमा व्यतित गर्ने गर्छौँ तर कतिपय मानिसहरु सजिलै त्यसलाई छाड्न सक्दैनन् र अधिकतम समय यसैमा बिताइरहन चाहान्छन् जसलाई नै ‘इन्टरनेट एडिक्सन’ भनिन्छ । इन्टरनेटको लत भन्नाले व्यक्तिको पारिवारिक, सामाजिक लगायत विभिन्न पक्षमा नकारात्मक असर पर्नेगरी यसको अत्याधिक प्रयोग गर्नु हो ।
गत वर्ष मात्र विश्व स्वास्थ्य संगठनले ‘इन्टरनेट गेमिङ डिसअर्डर’ लाई मानसिक समस्याका रुपमा पहिचान गरेको हो । विश्व स्वास्थ्य संगठनले असिमित रुपमा गेम खेलिरहनु, आत्म नियन्त्रण गुम्नु, तनाव र नकारात्मक व्यवहारपछि पनि आफ्नो बानीमा परिवर्तन नल्याउने गर्नु यसको मुख्य लक्षण रहेको भनि उल्लेख गरेको छ ।
यस्तोमा इन्टरनेटको अत्याधिक लत भएका मानिसहरुका लागि छोटो अवधिको एक प्रकारको व्यवहारिक थेरापी प्रभावकारी हुने बुधबार प्रकाशित मेडिकल जर्नल ‘जामा साइकिआट्री’ मा सार्वजानिक गरिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार ‘गेमिङ डिसअर्डर’ अर्थात गेम खेल्ने लतबाट छुटकारा पाउन सो उपचार उपयोगी साबित भएको छ । यसमा अनुसन्धानकर्ताहरुले इन्टरनेटको लतलाई अझ विस्तृत रुपमा व्याख्या गरेका छन् जसमा व्यक्तिलाई सामाजिक संजाल, गेमिङ, पोर्नोग्राफी, अनलाइन सर्फिङ वा सामान्य इन्टरनेटको व्यापक प्रयोगलाई इन्टरनेट लतका रुपमा व्याख्या गरिएको छ । अहिले विश्वका ६ प्रतिशतमा इन्टरनेट एडिक्सनको समस्या रहेको छ ।
यसरी उनीहरुले जर्मनी र अष्ट्रियाका १७ देखि ५५ वर्षका १४३ पुरुषहरुमाथि अध्ययन गरेका हुन् जसमा इन्टरनेट लतको समस्या थियो । यसका लागि इन्टरनेट एडिक्सनलाई इन्टरनेट क्रियाकलापको गति, अन्य जैविक गविधिप्रति कम रुची हुनु, बारम्बार चलाइरहने गरि १४ प्रकारमा विभाजित गरिएको थियो । सो उपचार १५ हप्ता लामो सामुहिक र व्यक्तिगत मानसिक थेरापी हुने गर्दछ जसमा अधिकांश बिरामी पुरुषहरु थिए किनकी विश्वभर ९० प्रतिशत इन्टरनेट लतको बिरामी पुरुष हुने गरेको बताइएको छ । यसरी इन्टरनेटको लतबाट मुक्त भएपछि बिरामीमा तनाव पनि कम देखिएको हो । यसका लागि व्यक्तिले आफ्नो जीवनको इतिहास र व्यवहारिक विकासबारे बुझ्नुपर्ने हुन्छ जसले उनीहरुलाई इन्टरनेट बाहेक जीवनका अन्य महत्वपूर्ण विषयप्रति केन्द्रित रहने मौका दिन्छ र गलतीको आभास गराउँछ । सिएनएनबाट