वीरगञ्ज । राष्ट्रिय–अन्र्तराष्ट्रिय स्तर क्षेत्रबाट बलि प्रथाको विरोध भइरहेको छ । र पनि, गढीमाई मेलामा एकपटक हजारौं पशुको बलि रोकिएको छैन । हिन्दूहरुले आ–आफ्ना चलनअनुसार, विभिन्न शक्तिपीठमा पशुबलि दिन्छन् । तर, गढीमाईलाई जति धेरै बलि अन्त दिइँदैन ।
विश्वमा माछामासु खानेकै संख्या अधिक छ । खानकै लागि दिनहुँ लाखौं पशुपंक्षी काटिन्छन् । ‘शाकाहारी बनौं’ भन्ने र पशु अधिकारको वकालत गर्नेको संख्या पनि बढिरहेको छ । नखाने, खाने, काटेर खाने, रेटेर खाने, व्यवस्थित वधशालामा मारेको खाने– सबैको आ–आफ्नै तर्क छन् ।
एकथरि वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु जो अहिंसा परमो धर्म (अहिंसा नै सबभन्दा ठूलो धर्म) भन्छन् । वैदिकहरु रगत–मासु खानुलाई महापाप मान्छन् । तर, देवदेवी र कुल देवतालाई बलि चढाएर मासु खाने हिन्दुहरु पनि उत्तिकै छन् । बलि प्रथा मान्ने हिन्दूबाहेकका अन्य समुदाय पनि छन् ।
गढीमाईमा यसवर्ष दर्ता भएका ७०० सहित १० हजार हाराहारी पाडा बली चढाईयो । हजारौं दर्शनार्थीले आ–आफ्नो भाकल अनुसार बलि दिएका हाँस, कुखुरा, परेवा र अन्य चौपायाको कुनै हिसाब छैन ।
हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेलामा बलि चढाउने भारतीय भक्तजन धेरै छन् । जबकी, भारतको सर्वोच्च अदालतले गढीमाईमा बली दिन पशुपंक्षी नेपाल लैजान रोक लगाउने आदेश दिएको छ । नेपालको सर्वोच्च अदालतले समेत गढीमाईमा पशुबलि निरुत्साहित गर्न आदेश दिएको छ ।
तर, कहाँका, कति भक्तजनले के भाकल गर्छन्, के ल्याउँछन् ? हिसाब राखेको पाईदैन । गढीमाई पञ्चवर्षीय मेला मूल समितिका महासचिव मोतिलाल कुशवाह कसले, कहाँबाट, के र कति बलि ल्याउँछन् भन्ने हिसाब राखेर साध्य नहुने बताउँछन् । उनी भन्छन्, ‘त्यो त मातालाई नै थाहा हुन्छ ।’
भाकल पूरा भएपछि बलि
अढाई बर्षको छोरा च्यापेर गढीमाई मेलामा हेलिएकी वेतिया (बिहार) की ज्ञान्तीदेवी भीडमा हायलकायल भइन् । कुनै प्रहरीको नजर परेपछि उनलाई बम्हस्थानको चौतारामा उकालिदिए ।
यस्तो भीडमा सानो बच्चा लिएर किन ? ‘विवाह भएको १४ वर्षसम्म पनि निसन्तान भएर गढीमाइमा कपाल चढाउने भाकल गरेपछि बच्चा पाएँ’, उनले भनिन्, ‘अनि कपाल चढाउन आएकी हुँ ।’
मेलामा गढीमाईलाई आफ्नो सन्तानको केश चढाउने हजारौं भेटिन्छन् । कपाल काट्न कैची लिएर हिँडेकाहरु पनि उत्तिकै देखिन्छन् । गढीमाई मेला भनेकै विभिन्न मनोकांक्षा लिएका र मनोकांक्षा पुरा भएकाहरुको भीड हो भन्ने लाग्छ ।
पोखरीया– ६, पर्साका २९ बर्षका सन्तोष सहनी छिमेकीसँग भएको जग्गासम्बन्धी झगडामा गढीमाईकै आर्शिवादले जितेकाले पहिलो वर्ष बोका बलि चढाएको बताउँछन् । त्यसपछि पनि गढीमाईको कुनै मेला नछुटाएको उनले बताए ।
कलैयाको सरकारी निमाविमा अंग्रेजी पढाउने पूजा यादव आफ्ना आमाबाबु गढीमाईको शरण परेपछि चार दिदीबहिनीले भाइ पाएको बताउँछिन् । स्थायी शिक्षिका यादवले भनिन्, ‘भाइ नौ वर्ष पुगेको उपलक्ष्यमा देवीलाई राँगो बलि चढाउन आएका हौं ।’
बलि दिने समयमा अत्याधिक भीड हुने भएकोले यादव परिवारले एक साता अघि नै गढीमाईमा राँगो छोडेका थियो । त्यसरी छोडेका राँगाहरु मेला आयोजना मूल समितिबाट अनुमति लिएका व्यक्तिहरुले राखेकै ठाउँमा काटि दिन्छन् । त्यसरी काटिएका हजारौं राँगा दलित समुदायले उठाउने गरेका छन् । बलि चढाउनेहरुले बाहिर पनि कटाउन सक्छन् । बाहिर काटिएका पशुपंक्षीको मासु भने बलि दिने परिवारले नै घर लैजाने गरेका छन् ।
मेला समितिबाटै बलि निरुत्साहन
‘साह्रै विभत्स पशु हत्या’ भन्दै भएको चर्को आलोचना र अदालतको आदेश पछि दवावमा परेको मूल समितिले यसवर्ष पशु बलि निरुत्साहित गर्ने निर्णय गरेको थियो ।
कात्तिक २५ गते बसेको बैठकले ‘गढीमाईको पञ्चवर्षीय मेलामा हिन्दु धर्म, सँस्कृति तथा आस्थासँग जोडिदै पूर्वजकालदेखि नै हुँदै आएको बलिलाई निरुत्साहित गर्दै जाने र भक्ताजनबाट आएका बलिलाई व्यवस्थापन गर्न सम्मानित सर्वोच्च अदालतबाट आदेशको पालना गर्ने’ निर्णय गरेको थियो ।
समितिले बलि चढाउन ल्याएका कलिला राँगा र बोका पाल्न इच्छुक व्यक्तिहरुलाई दिने, राँगाको लागि आठ हजार, बोकाको लागि चार हजार र प्रतिजोडी परेवाको लागि तीन सय उपलब्ध गराए बलि चढाएसरह हुने भनेर भक्तजनलाई बुझाउने निर्णय पनि गरेको थियो । तर, धार्मिक आस्थालाई पैसासँग तुलना गरेको भन्दै समितिको विरोध भएको थियो ।
यसवर्ष मेलामा ‘पृथ्वी सबैको साझा घर हो’, ‘मठमन्दिर आस्थाका धरोहर हुन्, रगतले अपवित्र नबनाऔं’ जस्ता नारा लेखिएका व्यानरहरु पनि देखिए । परेवा भाकल गर्ने धेरैले मार्नुका साटो उडाए ।
मुल समितिका महासचिव मोतिलाल कुशवाहा बलि दिने चलन क्रमशः न्युन हुदै जानेमा आशावादी छन् । त्यसका लागि आफूहरु लागिपरेको उनले बताए ।
महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव पनि पशुबलि विस्तारै घट्दै जाने बताउँछन् । बलिकै कारण गढीमाई प्रसिद्ध रहेको भए पनि पछिल्लो समय जीव हत्या गराएर देवी खुशी हुन्नन् भन्ने मान्यता बलियो बन्दै गएको उनले बताए । ‘यो मानव सागर त्यतिकै उर्लिएको होइन, यसमा आस्था र सँस्कृति छ’, मेयर यादव भन्छन्, ‘आस्थामा एकैपटक रोक लगाउन सकिन्न, विस्तारै न्युनीकरण गर्दै जान सकिन्छ ।’
उनले भक्तजनलाई बलिको साटो मन्दिरको विकासका लागि रकम दान गर्न, नरिवल लगायत फलपूmललाई बलिको विकल्प बनाउन प्रोत्साहन गरिएको बताए । ‘भाकल नगरे अनिष्ट हुने मान्यता यहाँ छ’ उनी भन्छन् ‘अहिलेलाई दर्शनार्थीले बलि ल्याएपछि व्यवस्थापन गर्नैपर्ने हुन्छ ।’
बलि निरुत्साहनमा संघ–संस्था
गढीमाईमा पुश बलि न्युनिकरण गर्नुपर्ने आवाज देश–विदेशका संघ–संस्थाले अन्र्तराष्ट्रिय स्तरसम्म पुर्याएका छन् । पछिल्लो समय बलि विरोधकै कारण गढीमाई पञ्चवर्षिय मेला चर्चा व्यापक हुन थालेको छ । यसलाई ‘इसाईको डलर खाएर हिन्दु आस्थामा प्रहार’ भन्नेहरु पनि छन् ।
पशु अधिकार र कल्याणका कुरा उठाउने समूह राष्ट्रिय–अन्र्तराष्ट्रिय स्तरका छन् । ‘रक्तहीन गढीमाई’ अभियान चलाएको दावी गर्ने पशु कल्याण संघले यसपटक चारवटा स्थानीय गैर–सरकारी संस्थासँग मिलेर सीमा क्षेत्रमा समेत स्वयंसेवक परिचालन गरेको थियो ।
गत डेढ वर्षमा ६० वटा विद्यालय, गढीमाई नगरपालिकाका जनप्रतिनीधि– कर्मचारी र महिला भेला गरेर र्याली, छलफल, अन्तर्क्रियादेखि सडक नाटकसम्म गरेको संघका पदाधिकारी बताउँछन् ।
संघकी अध्यक्ष स्नेहा श्रेष्ठ गढीमाईमा ८० प्रतिशतभन्दा बढी बलि भारतबाट आउने बताउँछिन् । ‘म स्वयं हिन्दु आस्थाकी हुँ, तर बलिको साटो नरिवल चढाउँछु, गढीमाईले मलाई आशिर्वाद दिनुहुन्छ’, उनी भन्छिन्, ‘हामीले भारतमा पनि गएर जनावरको भाकल नगर्नुस्, नरिवललगायतका प्रसाद चढाउनुस् भनेर सम्झाएका छौं ।’
गढीमाईको इतिहास
स्थानीय भूमिपति भगवान दास थारुलाई मकवानपुरगढीका सरदारले बन्धक बनाएका थिए । बन्धक रहेकै अवस्थामा थारुले गढीमाई मन्दिर बनाएर रगत चढाए सब ठीकठाक हुने सपना देखे । तुलजा भवानी अर्थात् गढीमाईले ‘मलाई तिम्रो गाउँमा लैजाने वाचा गर, तिमी मुक्त हुनेछौ र तिम्रा सारा दुःख पीडा समेत हट्नेछ’ भनेको लोकोक्ति छ ।
भगवान दास थारुले संकल्प गरेपछि उनी मुक्त भए, भवानीको त्रिशुल बरियारपुरमा ल्याएर गाढे, जसलाई हरेक पाँचवर्षमा पूजा गरेर फेर्ने परम्परा छ । मन्दिरबाट पूर्व–दक्षिणतिरको पिपलबोटसँगै रहेको ब्रम्हस्थानमा चौधरी समुदायले मानेका धामीले शरीरको पाँच ठाउँबाट रगत झिकेर मानिसको रगत चढाएपछि पशुपंक्षीको बली शुरु हुन्छ । सुरुमा पञ्चबली दिइन्छ ।
करिब चारसय वर्षदेखि यो परम्पराले निरन्तरता पाउँदै आएको छ । ११ औं पुस्ताका पुजारी शिव चौधरी धामीको रगतलाई नरबलीको निरन्तरता भन्छन् ।
उनका अनुसार, देवीलाई वर्षेनी नरबलि दिन नसक्ने भएपछि भगवान दासले नै पाँच वर्षमा धामीको रगत र पञ्चबलि दिने वाचा गरेका थिए । ‘शरीरको पाँच ठाउँको रगत दिने धामी राख्ने चलन पनि उनैले चलाएका हुन्’, चौधरी भन्छन्, ‘धामीले नमाने हामी पुजारीका सन्तानले दिनपर्छ, तर नजिककाले दिँदा देवीले दिनहुँ खोज्छिन् भन्ने डर हुन्छ ।’