विरगंज | नेपालले दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा सर्वाधिक स्वर्ण जितेको छ ।
यसअघि आठौँ संस्करणमा ३१ स्वर्ण जितेर बनाएको स्वर्णको रेकर्ड नेपालले जारी १३औँ सागमा भंग गरेको छ । नेपालले अहिलेसम्म ३२ स्वर्ण जितेको छ ।
साइक्लिङको क्रस कन्ट्री पुरुषतर्फ नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण जितेपछि नेपालले सागको इतिहासमा नयाँ रेकर्ड बनाएको हो ।
यस पटकको सागमा नेपालले तेक्वान्दो, कराँते, साइक्लिङ, ट्रायथोनल, उसुमा स्वर्ण जितेको छ । अझै नेपालको प्रतिस्पर्धा जारी रहेको छ, जसबाट नेपालले अझै केही स्वर्ण थप्ने सम्भावना रहेको छ ।
योसँगै नेपालले साइक्लिङमा ४ स्वर्णसँगै पदक संख्या ७ पुर्याएको छ । बुधबार डाउनहिलतर्फ राजेश मगर र निश्मा श्रेष्ठ र बिहीबार बिहान क्रस कन्ट्रीमा लक्ष्मी मगरले स्वर्ण दिलाएका थिए ।