विरगंज | हरेक पाँच वर्षमा लाग्ने बाराको बरियारपुरस्थित पञ्चवर्षीय गढीमाई मेलाले यसक्षेत्रका होटल व्यवसाय फस्टाएको छ । पञ्चवर्षीय गढीमाईको मेलाले वीरगन्ज तथा कलैयाका होटलहरू भरिभराउ भएका छन् । नेपाल तथा भारतबाट दर्शनका लागि आउने दर्शनार्थीहरू होटलमा बास बस्न आउने गरेका कारण वीरगन्जका सबै होटलहरू भरिएका छन् । पाँच वर्षमा एक पटक निकै महत्व र विशेषताका साथ लाग्ने गढीमाई मेलामा दर्शनार्थी तथा श्रद्धालु भक्तजनहरूको भीड हुने गरेको छ ।
नेपालका विभिन्न स्थान र सीमावर्ती भारतबाट लाखौं भक्तजन दर्शनका लागि आउने र कलैया तथा वीरगन्जका होटलहरूमा बास बस्ने गरेका छन् । पछिल्लो समयमा वीरगन्जलगायत आसपासका क्षेत्रमा सामान्यदेखि स्तरीय होटलहरूले गुणस्तरीय सेवा सुविधा दिन थालेपछि अहिले पर्यटकहरूले वीरगन्जलाई पनि गन्तव्य बनाउन थालेका छन् । कुनै समय वीरगन्जको होटलहरूमा बास बस्न नमानेका पर्यटकहरू अहिले वीरगन्जलाई गन्तव्य बनाउन थालेका हुन् ।
वीरगन्जका होटलहरू अब पर्यटकहरूका लागि आधुनिक र स्तरीय सेवा दिन सक्षम भएकाले पर्यटकको गन्तव्य वीरगन्ज बन्दै गएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष बुद्धिबहादुर पन्त (हरि) ले दाबी गरे । वीरगन्जमा विभिन्न समयमा भइरहने मेला, उत्सव महोत्सवले पनि वीरगन्जमा होटलहरूको व्यवसायीकरण हुँदै बताउँदै यसले होटल तथा पर्यटन क्षेत्रको विकासले पनि गति लिएको बताए ।
यसअघि कात्तिक २१ देखि २३ गतेसम्म भएको ऐतिहासिक नेपाली चलचित्र महोत्सवमा देशभरका सयौं कलाकार तथा आगन्तुकलाई राख्न सफल भएको उदाहरण दिँदै अब वीरगन्ज होटलहरू पाहुनालाई सहज वातावरणमा सर्वसुलभ सेवा दिएर व्यावसायिक रूपमा सक्षम भएको बताए । अध्यक्ष पन्तले भने, “नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विभिन्न क्रियाकलाहरू पनि भइरहेको छ ।
ती कार्यक्रमले वीरगन्जको होटल तथा पर्यटन व्यवसायलाई पनि प्रवद्र्धन गरिरहेको छ । पाँच वर्षमा लाग्ने गढीमाईको मेलाले यसक्षेत्रका होटल व्यवसायलाई पनि चलायमान बनाएको छ । यसले हामी होटल व्यवसायीहरू अझ उत्साहित भएका छौं ।” प्रदेश नम्बर २ मा रहेका यस्तै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूलाई अझ बढी प्रचार–प्रसार र विकास गरेर पर्यटकहरू भित्र्याउन सके यहाँको आर्थिक विकासले पनि गति लिने उनी बताउछन् । पाँच वर्षमा लाग्ने गढीमाइको मेलाले मात्रै पनि वीरगन्जका होटल व्यवसाय निकै फस्टाएको कलश होटलका सञ्चालक कुवेर कार्कीले बताए । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गरेर प्रवद्र्धन गर्न सके वीरगन्जका होटलहरूलाई पनि फाइदा पुग्ने र देशको आर्थिक विकासलाई पनि टेवा पुग्ने कार्कीको भनाइ छ ।