चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा १४ जनाको ज्यान गयाे
वीरगंज संजाल
१६ मंसिर २०७६, सोमबार ११:२५
२४९७
एजेन्सी । अफ्रिकी देश बुर्किना फासोको एक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा १४ जनाको ज्यान गएको छ । देशको पूर्वी क्षेत्र हान्तोउकोउरामा रहेको चर्चमा आइतबार भेला भएकाहरुलाई लक्षित गरी आक्रमण भएको हो ।
आक्रमणकारीको पहिचान तथा आक्रमणको उद्देश्य थाहा भएको छैन । बुर्किना फासोमा पछिल्ला केही वर्षयता हिंसात्मक गतिविधि बढेका छन् । विशेषगरी मालीसँगको सीमा क्षेत्रमा जातीय तथा धार्मिक तनाव बढेका कारण हिंसाले तीव्रता पाएको हो ।
स्थानीय गभर्नरले जारी गरेको व्यक्तव्यमा आक्रमणमा परी धेरै मानिस घाइते भएको उल्लेख गरिएको छ । बन्दुकधारीको आक्रमणमा मारिने पादरी र बालबालिकासमेत रहेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । गएको अक्टोबरमा पनि यहाँ मस्जिदमा भएको आक्रमणमा १५ जनाको ज्यान गएको थियो ।