धुम्रपानले फोक्सोमात्र होइन आँखामा पनि गम्भीर असर पार्छ
वीरगंज संजाल
१५ मंसिर २०७६, आईतवार ०६:३०
२८९७
बीबीसी । विशेषज्ञहरुले करोडौँ मानिसहरुले धुम्रपान गर्दैगर्दा आफ्नो आँखालाई पनि जोखिममा पारिरहेको चेतावनी दिएका छन् । दुईबीच स्पष्ट सम्बन्ध भएपनि पाँच मध्ये एकजना मात्र धुम्रपानले अन्धोपना निम्त्याउन सक्छ भन्नेबारे जानकार रहेको ‘असोसिएसन अफ अप्टोमेट्रिस्ट्स’ , एओपीको सर्वेक्षणबाट पत्ता लागेको हो । बेलायतको रोयल नेस्नल इन्स्टिच्युट अफ ब्लाइन्ड पिपुल, आरएनआइबीका अनुसार धुम्रपान नगर्नेहरुको तुलनामा यसको लत भएकाहरुको आँखाको ज्योती गुम्ने खतरा दुई गुणा बढी हुन्छ । किनकी तम्बाकूको धुँवाले समस्या उत्पन्न गराउनुका साथै आँखाको अवस्थालाई झन बिगार्दै लैजाने गर्दछ ।
धुम्रपानले कसरी गर्छ आँखामा असर ?
चुरोटको धुँवामा विभिन्न विषाक्त रसायन हुन्छन् जसले आँखालाई असहज बनाउनुका साथै हानि पनि पुर्याइरहेको हुन्छ । जस्तै यसबाट लिड र तामा जस्ता धातुहरु आँखाको लेन्ससम्म पुग्न सक्छन् । लेन्स हाम्रो आँखाको नानी पछाडि हुने पारदर्शी तत्व हो जसले उज्यालोका किरणहरु फोकसमा ल्याउँछ । यस्तोमा दूषित कुराहरु लेन्समा संकलित हुँदै जानुले त्यसलाई धमिलो बनाइदिन सक्छ । त्यसैगरी धुम्रपानले मधुमेहसँग सम्बन्धित आँखा पछाडिको रहेको रेटिनाको रगत नली अवरुद्ध गरि आँखाको समस्यालाई झन गम्भीर अवस्थामा पुर्याउने गर्दछ ।
यसका साथै धुम्रपान गर्नेहरुमा उमेर सम्बन्धी ‘म्याकुलर डिजेनेरेसन’ हुने जोखिम पनि तीन गुणा हुन्ुुछ । म्याकुलर डिजेनेरेसन त्यस्तो अवस्था हो जसमा मान्छेको केन्द्रिय दृष्टिमा क्षति पुग्छ अर्थात उनीहरुले कुनैपनि वस्तु स्पष्टसँग र विस्तृतमा देख्ने क्षमता गुमाउँछन् । यता आँखाको ज्योती अचानक गुम्न सक्ने जोखिम पनि धुम्रपान गर्नेहरुमा तुलनात्मक रुपमा १६ गुणा बढी हुन्छ । यसको प्रमुख कारण अप्टिक न्युरोप्याथी हो जसमा आँखातर्फको रगत नली अवरुद्ध हुन पुग्छ । यसरी २,००६ वयश्कहरुमा गरिएको सर्वेक्षणमा ७६ प्रतिशतलाई धुम्रपान क्यान्सरसँग सम्बन्धित छ भन्ने थाहा भएपनि आँखामा पार्ने असरबारे चाहिँ धेरै अज्ञात रहेको पाइएको हो ।
त्यसकारण धुम्रपान गर्न बन्द गर्नु नै लामो समय आँखालाई सुरक्षित राख्ने सबैभन्दा उचित उपाय भएको बताइएको छ ।
तथ्याङ्कका अनुसार बेलायतमा मात्र १७ प्रतिशत पुरुष र १३ प्रतिशत महिला अर्थात करिब ७४ लाख मानिस धुम्रपान गर्छन् । तिनीहरुमध्ये ६१ प्रतिशतले आफूलाई धुम्रपान छाड्न मन लागेको बताउने गरेका छन् । सरकारी तथ्याङ्कका अनुसार १८ देखि २४ वर्षीया युवाहरुको धुम्रपान दरमा २०११ पछिकै सबैभन्दा ठूलो गिरावट आएको छ । यसका लागि इ–सिगरेटले ठूलो योगदान पुर्याएको बताइएको छ ।