उपचार गर्न गएका विक दम्पती कहिल्यै नफर्किने गरी गए
वीरगंज संजाल
१४ पुष २०७६, सोमबार १५:१६
४५१७
रौतहट | चन्द्रनिगाहपुरमा रहेको माउन्ट एभरेष्ट माविका शिक्षक २१ वर्षीय मनिष विक श्रीमती २० वर्षीया सिर्जनाको उपचारका लागि गत शुक्रबार काठमाडौं हिँडे। उनीहरु चढेको जिप मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेतरीमा दुर्घटना भयो।
विक दम्पतीको दुर्घटना स्थलमै मृत्यु भयो। मनिषका बुबा मेकबहादुरका अनुसार सिर्जनाको पेट दुखेकाले उपचारका लागि उनीहरु काठमाडौं हिँडेका थिए। विवाह भएको गरेको एक वर्ष नपुग्दै ना १ ज ३४३३ नम्बरको जिप दुर्घटनामा विक दम्पतीको निधन भएको हो।
बुहारीको उपचार गर्न हिँडेका छोरा–बुहारी नै गुमाएका मेकबहादुर असह्य पीडामा छन्। छोरा–बुहारीलाई मोटरसाइकलमा काठमाडौं जान सुझाव दिएका मेकबहादुर सम्झन्छन्। उनले भने, ‘यस्तो पीडा भगवानले कसैलाई नपारुन्।’
सर्लाहीको लालबन्दी माइती भएकी सिर्जनाको गत फागुनमा मनिषसँग विवाह भएको थियो। मेकबहादुरका दुई छोरामध्ये मनिष कान्छा हुन्। मनिष विद्यालयको जुझारु शिक्षक रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष उमेश बाँस्कोटा बताउँछन्।
मनिषको मृत्युले चन्द्रनिगाहपुर शोकमा छ। शिक्षक मनिषको निधनको शोकमा चन्द्रपुर नगरपालिकाका सम्पूर्ण निजी विद्यालय आइतबार बन्द गरिएको थियो।
दम्पतीको एउटै चिता दुर्घटनामा ज्यान गुमाएका विक दम्पतीको शनिबार बागमती नदीमा दाहसंस्कार गरिएको थियो। उनीहरुको एउटै चितामा दाहसंस्कार गरिएको थियो। सोही घटनामा परी अर्को एक दम्पतीको पनि निधन भएको छ ।
चन्द्रपुर नगरपालिका–९ मा आफन्तको घरमा पाहुना आएका सिराह निवासी नेत्रबहादुर विक र उनको श्रीमतीको निधन भएको हो। यसैगरी चन्द्रपुर–४ का केदारनाथ तिमलसिनाको पनि उपचारको क्रममा निधन भएको थियो। उक्त दुर्घटनामा पाँचजनाको मृत्यु भएको थियो। thahakhabar