प्रदेश २ : प्रदेशसभा बैठक पौष १४ गते बस्ने, अधिकांश योजनाको रकम भुक्तानी हुन बाँकी
वीरगंज संजाल
११ पुष २०७६, शुक्रबार ११:१७
४७२६
जनकपुरधाम । प्रदेश- २ को प्रदेशसभा बैठक पौष १४ गते बस्ने भएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिले पौष १४ गते बैठक बोलाउने निर्णय गरेपछि करिब डेढ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।
बुधबार बसेको समिति बैठकले आगामी पौष १४ गते १ बजे प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको नेपाली कांग्रेसका संसदीय दलका नेता प्रदेशसभा सदस्य राम सरोज यादवले जानकारी दिए ।
प्रदेशसभाको पछिल्लो बैठक २९ कार्तिकमा बसेको थियो । अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएपछि साे बैठक बस्न सकेको थिएन । बैठक सञ्चालन गर्नेबारे सरकारले निर्णय गर्न नसक्दा चौथो अधिवेशन सञ्चालन हुनुपर्नेमा हालसम्म तेस्रो अधिवेशनसमेत अन्त्य हुन सकेको छैन । गत वर्ष चैत महिनामा सुरु भएको प्रदेशसभाको तेस्रो अधिवेशन हालसम्म जारी छ ।
अधिकांश योजनाको रकम भुक्तानी भएन
गत आर्थिक वर्षमा प्रदेश सरकारका विभिन्न मन्त्रालयले वितरण गरेका ८४२ मध्ये ५१० योजनाको रकम भुक्तानी हुन सकेकाे छैन । साे हुन नसकेपछि नै सत्तापक्ष र विपक्षी दलका प्रदेशसभा सदस्यहरुले विरोध जनाएपछि बैठक स्थगित भएको थियो ।
कतिपय योजनामा कामै नगरी भुक्तानीको लागि सिफारिस गरिएको भन्दै प्रदेशको आर्थिक मामिला मन्त्रालयले निकासा रोकेको थियो । भुक्तानी बाँकी रहेको योजनाहरुको विवरण पठाउन आर्थिक मामिला मन्त्रालयले सम्बन्धित मन्त्रालयहरुलाई पत्राचार गरेको बताइएको छ । मन्त्रालयहरुले विवरण पठाएपछि बाँकी रहेको रकम निकासा गरी सम्बन्धित कार्यालयमार्फत भुक्तानी हुने जनाइएको छ ।
यता प्रदेशसभा सचिवालयका सूचना अधिकृत अवधकिशोर कुशवाहाले प्रदेशसभा बैठक सञ्चालन गर्नेबारे समितिको बैठकले गरेको निर्णयबारे हालसम्म आफूलाई कुनै जानकारी नरहेको बताए । कुशवाहाका अनुसार नयाँ विजनेसको रुपमा सरकारले प्रदेश अनुसन्धान ब्यूरो, प्रदेश पदक, प्रदेश जाँचबुझ आयोग गठन र प्रदेश आवश्यक सेवा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकसहित चारवटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।