प्रचार–प्रसारको अभावमा पर्सा राष्ट्रिय निकुञ्ज ओझेलमा
वीरगंज संजाल
११ पुष २०७६, शुक्रबार ०९:०३
५४१९
पर्सा | भ्रमण वर्ष २०२० नजिकिएको छ । नेपालमा काठमाडौं, पोखरा वा चितवन बाहेक पनि पर्यटकीय गन्तव्यहरु थुप्रै छन् । फोब्र्स म्यागजिनले पनि नेपाललाई पर्यटकीय गन्तव्यको पहिलो सूचीमा राखेको छ । चर्चाभन्दा केही बाहिर रहेको पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकको मुख्य रोजाई बन्न सक्छ ।
यो पर्सा राष्ट्रिय निकुञ्ज हो । यहाँ विभिन्न जीवजन्तु हेर्न पाइन्छ । यो निकुञ्जमा ४ सय ९० प्रजातीका चरा, ३७ प्रजातीका स्तनधारी, १३ प्रजातीका घस्रने जीव, ३१ प्रजातीका पुतली, ८ प्रजातीका माछा, ३३६ प्रजातीका बनस्पती रहेका छन् ।
१८ वटा बाघ, ६५ वटा हात्ती र १०५ वटा गौरी गाई रहेका छन् । यहाँको अर्को आकर्षण भनेको राणकालिन इतिहास बोकेको कामिनी दह, हलखोरीया दह, कालीदह र लौकी दह हुन् । त्यस्तै दुग्धेश्वर महादेव मन्दिर पनि आकर्षणको केन्द्र बन्न सक्छ ।
पर्यटकका लागि अवलोकन र घुमफिरका लागि निकुञ्जभित्र पर्ने पर्साको प्रतापुर, रामभौरी भाठा, मकवानपुरको रातेमाटे, बाराको हलखोरीयामा गरी एक दर्जनबढी पक्की र काठे भ्यू टावर निर्माण गरेको छ । जंगलभित्र फायर लाइन बिस्तार गरिनुका साथै बन्य जन्तुका लागि कुल ६० वटा पोखरी, उनिहरुको बासस्थान र घाँसे मैदान पनि बनाउने काम सुरु भएको छ ।
हतार–हतार काम गर्ने प्रवृत्ति यहाँ पनि दोहोरिएको छ । पर्यटन वर्ष नजिक आएकै बेला पूर्वाधार निर्माण तीव्र पारिएको छ । निकुञ्जमा हालै मात्र पर्यटकीय पूर्वाधारहरु बिकास गर्ने क्रम सुरु भएको छ । अहिले आन्तरिक पर्यटक भने बढेका छन् । पर्सा निकुञ्जमा विभिन्न शहरबाट आगन्तुक आउने गरेका छन् भने भारतबाट पनि पर्यटकहरु आउँछन् ।
यो निकुञ्ज बारा, पर्सा र मकवानपुर जिल्लाको ६ सय ३७ दशमलव ३७ वर्ग किलोमिटरमा फैलिएको छ । तर, यहाँ विदेशी पर्यटक भित्र्याउन खासै पहल हुन सकेको छैन ।