अधिकांश बालबालिकाको शरीरभरि कपडा छैनन् । त्यहाँका बुढापाकाको एउटै भनाइ थियो, “हाम्रा बालबालिकाको बाँच्ने परिवेश यस्तै हो । नत पेटभरि खाना नै हुन्छ न त राम्रो तथा सुकिला कपडा नै हुन्छ । सबै ठूलाबडाहरु जाडो छल्न तातो लुगा लगाउँछन् तर हाम्रा घरमा चुल्हो बाल्ने स्थिति छैन । छिमेकी गाउँमा जाडोबाट बच्न हिटरलगायत सामानको जोहो छ । तिनीहरुका बालबालिका सुकिला कपडा लगाइरहेका छन तर हाम्रा बालबालिका जाडो छल्न परालको आगोको सहारा लिन बाध्य छन् ।
बाराको सदरमुकाम कलैयाको बरियारपुर सडकखण्डको भुतही पुलदेखि करीब २ किमी दूरीमा रहेको मुसहर बस्तीको छेउमै खोला रहेकाले वर्षाको समयमा बस्ती जोखिममा पर्ने गरेको अधिकारकर्मी श्यामबाबु यादवले बताए । मजदूरीबाहेक कुनै रोजगारी नरहेकाले उनीहरुको जाडो छल्ने भरपर्दो माध्यम आगो नै हो । विपन्न तथा गरीब दलित बस्तीमा आगो संस्कृतिको विकास हुँदै गएको छ ।
प्रदेश सरकारले नै दलितलाई हेला गरेको दलित अधिकारकर्मी सिकेन्द्र पासवानको आरोप छ । सबैबाट अपहेलित दलितको अवस्था आजसम्म जस्ताको त्यस्तै रहेको उनी बताउछन् । आर्थिक विपन्नताका कारण आफ्नो समुदाय निकै पछाडि परे पनि राज्यले चासो नदिएको बस्तीका मुसहरहरु बताउँछन् । – रासस