सर्लाही । सर्लाहीमा घुस लिँदै गरेको समयमा रंगेहात एक जना कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका करार सेवामा कार्यरत कम्प्युटर अपरेटर (नायब सुब्बा सरह) नविन कुमार सिंह कार्यालयमै घुस रकमसहित रंगेहात पक्राउ परेका हुन् । एक जना सेवाग्राहीसँग उधोग दर्ता गराउन सहज गरिदिने भन्दै ७० हजार घुस लिँदै गरेको अवस्थामा बुधबार दिउँसो सिंह पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।
सेवाग्राहीसँग केही दिन पहिला नै काम सहज गरिदिने भन्दै घुस रकम मागेपछि सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि बुधबार अख्तियारको टोलीले सिंहलाई पक्राउ गरेको हो । घुस रकमसहित पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास ल्याउने तयारी भइरहेको र थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडांै बिहिबार पठाइने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।
घरेलु तथा साना उधोगका प्रमुख जितेन्द्र किशोर गुप्ताले विशेष कर्मचारीको रुपमा पक्राउ परेका कम्प्युटर अपरेटर सिंहलाई भर्ना गरी सिंहकै माध्यमबाट घुस लिने गरेको सेवाग्राहीहरुको गुणासो रहँदै आएको थियो । केही दिन पहिला एक सेवाग्राहीसँग १८ हजार घुस रकम पक्राउ परेका सिंहले मागेका थिए । घरेलु तथा साना उधोग कार्यालय मलंगवामा ईटा उधोग दर्ता तथा अन्य काम गराउन ४ लाखसम्म घुस रकम लिने गरेको एक इटा उधोग व्यवसायीले बताए ।
सर्लाहीमा अधिकांश सरकारी कार्यालयमा घुस नदिँदा काम नै नहुने पटक पटक सेवाग्राहीहरुले गुणासो गर्दै आएका छन् । पछिल्लो समय अख्तियारको टोलीले सर्लाहीमा विशेष निगरानी बढाएपछि सर्लाहीबाट धमाधम घुस रकमसहित कर्मचारीहरु पक्राउ हुने क्रम जारी छ । केहि दिन पहिला मात्र ब्रह्म्पुरी गाउँपालिका स्थित त्रिभुवननगर प्रहरी चौकिका सई र जवान घुस रकमसहित रंगेहात पक्राउ परेका थिए ।