गाउँपालिकामा आर्थिक अनियमितता भएको भन्दै तालाबन्दी
वीरगंज संजाल
१० पुष २०७६, बिहीबार ०५:४८
४७५१
सप्तरी । जिल्लामा असन्तुष्टीको बिषयलाई लिएर एकपछि अर्को तालाबन्दी गर्ने लहर नै चलेको छ । पछिल्लोे पटक बुधबार जिल्लाको राजगढ गाउँपालिकामा मनपरी तथा आर्थिक अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले तालाबन्दी गरेका छन् ।
स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रमुख पदमा निर्वाचित परमानन्द यादवले मनपरी ढंगले काम गर्ने गरेको तथा पूर्व जानकारी बिनै परिषद गर्न लागेको भन्दै वडाध्यक्ष र अन्य राजनितिक दलका स्थानिय नेता कार्यकर्ताहरुले मिलेर तालाबन्दी गरेका हुन् ।
६ वडा रहेको सो गाउँपालिकामा वडा २ का वाडध्यक्ष ललित सिंह, वडा ४ का अध्यक्ष हेम नारायण साह वडा ६ का वडाध्यक्ष कमल देव यादवका साथै राजपा, समाजवादी पार्टी र नेकपाका स्थानिय नेता कार्यकर्ताहरु मिलेर तालाबन्दी गरेका छन् । उनीहरुले गाउँपालिका प्रमुख यादवले मनपरी तथा गोप्य ढंगले काम गर्ने गरेको तथा विकास निर्माणको विभिन्न कार्यमा अनियमितता गरेको आरोप लगाउँदै तालाबन्द गरिएको बताएका छन् ।
एक साता अघि जिल्लाको डाक्नेश्वरी नगरपालिकामा पनि आर्थिक अनियमितताको आरोप लगाउँदै स्थानिय एक पक्षले तालाबन्दी गरेका थिए । त्यो तालाबन्दी अझै खुलेको छैन । त्यस्तै ७ महिना अघि सदरमुकाम राजविराज स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पनि आर्थिक अनियमितता भएको भन्दै पदाधिकारीहरुकै एक समुहद्वारा तालाबन्दी गरिएको थियो ।
त्यहाँ गरिएको तालाबन्दी पनी खुलाउन कुनै निकायबाट साकारात्मक पहल नहुँदा ७ महिना अघि लगाइएको ताला अहिलेसम्म खुलेको छैन । जसकारण कार्यालयबाट प्रवाह हुने सेवा र दैनिकी कामकाज लामो समय देखि ठप्प छ ।
आफनो असन्तुष्टीको विषयलाई लिएर अन्य विकल्प नखोजी सोझै तालाबन्दी गर्ने र तालाबन्दी भई सकेपछि त्यसलाई खुलाउन सम्बन्धित निकायले चासो नदेखाउँदा यस्तो प्रवृति बढदै गई सर्वसाधारण मारमा पर्ने गरेको स्थानिय बुद्घिजिवीको भनाई छ ।