‘चार्ली फक्सर’ अपरेसन : पक्राउ परेकालाई पठाउन अध्यागमनको सहयोग खोज्दै प्रहरी
वीरगंज संजाल
१० पुष २०७६, बिहीबार ०५:४२
४७४५
वीरगंज । नेपाल बसेर चीनमा साइबर तथा आर्थिक अपराधका घटना गराएको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले उनीहरूलाई स्वदेश पठाउन अध्यागमन विभागसँग बाटो खोज्ने तयारी गरेको छ ।
‘चार्ली फक्सर’ नाम दिइएको सो अपरेसनका क्रममा गत सोमबार राजधानीका विभिन्न स्थानबाट १ सय १४ पुरुष र आठ महिला गरी १ सय २२ जना पक्राउ परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले नेपालमा अपराध गरेको कुनै प्रमाण नभेटिएपछि प्रहरी उनीहरूमाथि कसरी कारबाही गर्ने भन्नेमा अन्योलमा पर्दै आएको छ । प्रहरीले उनीहरूलाई ‘टुरिस्ट भिसा’ दुरुपयोग गरेर नेपाल बसेको भन्दै स्वदेश पठाउनेबारे अध्यागमन विभागसँग सहकार्य गर्ने तयारी गरेको हो ।
उनीहरूलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । सोधपुछको क्रममा प्रहरीमाथि दुव्र्यवहार गरिएको भन्दै प्रहरीले उनीहरूलाई दुव्र्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको हो ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले पक्राउ परेका चिनियाँ नागरिकलाई अध्यागमन विभागमार्फत नै प्रक्रिया पु¥याएर स्वदेश पठाइने बताए । ‘पक्राउ परेकाहरूलाई अध्यागमन विभागमार्फत नै स्वदेश पठाइन्छ, यसमा प्रहरीसँग आवश्यक सहकार्य हुन्छ,’ विभागका महानिर्देशक पौडेलले राजधानीसँग भने । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक डीआईजी निरजबहादुर शाहीले पक्राउ परेकाहरूमध्ये ६७ जनासँग मात्रै राहदानी रहेको पाइएको र अन्यको राहदानी खोजी भइरहेको जानकारी दिए ।
अध्यागमन विभागका महानिर्देशक पौडेलले भने त्यसरी राहदानी अरूलाई दिएको पाइएमा समेत लिने र दिने दुवैमाथि कारबाही हुने जनाए । यस्तै, उनीहरूको राजदानी फेला नपरे चिनियाँ दुतावासमार्फत ट्राभल डकुमेन्ट बनाएर उनीहरूलाई चिनियाँ अध्यागमनको जिम्मा लगाइने जानकारी दिएका हुन् ।
चिनियाँ पक्षले मंगलबार नै नेपाल र चीनको संयुक्त अपरेसनमा क्रममा सीमापार अपराधमा संलग्न आफ्ना नागरिक नेपालमा पक्राउ परेको बताएको थियो । तर, नेपाल प्रहरीले भने बुधबार पत्रकार सम्मेलन गरेर मात्र यसको औपचारिक जानकारी गराएको हो ।
‘एनसीबी बेइजिङको सूचनाको आधारमा एनसीबी काठमाडौंले यो अपरेसन गरेको हो, करिब तीन महिनादेखि उनीहरूमाथि अनुसन्धान हुँदै आएको थियो,’ सीआईबीका निर्देशक शाहीले पत्रकार सम्मेलनका क्रममा भने ।
चिलीमा आयोजित इन्टरपोलको ८८औं सम्मेलनमा चिनियाँ पक्षले नेपाली पक्षलाई चिनियाँ नागरिक नेपालमा बसेर साइबर अपराधको गतिविधि गरिरहेको सूचना दिएपछि त्यसबारे निगरानी थालिएको शाहीले जनाएका हुन् ।
डीआईजी शाहीले सो अपरेसन नेपालमा विदेशीमाथि भएको हालसम्मकै ठूलो अपरेसन भएको समेत बताए । उनका अनुसार ती चिनियाँ नागरिकले नेपाल बसाइका क्रममा ‘टुरिस्ट’ भिसाको दुरुपयोग गरेको पाइएको छ ।
पक्राउ परेकाहरूको साथबाट ७ सय ४७ थान मोबाइल, ३ सय ३१ थान ल्यापटप, ९८ थान सीपीयू, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३२७ थान सिमकार्ड र ६७ थान पासपोर्ट बरामद भएको सीआईबीले जनाएको छ ।
प्रहरीले संयुक्त अपरेसनका क्रममा राजधानीको मनमैजु, महाराजगन्ज र बूढानीलकण्ठका नौवटा घरहरूमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो ।
भाषाको समस्याले अनुवादक राखेर अनुसन्धान
ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेपछि नेपाल प्रहरीलाई उनीहरूसँग अनुसन्धानका लागि संवाद गर्न भाषागत समस्या परेको छ । प्रहरीले उनीहरूसँग संवाद असहज भएपछि चिनियाँ भाषाका अनुवादकको सहयोगबाट अनुसन्धान गरिरहेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले १० जना भाषा अनुवादक राखेर प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकमाथि सोधपुछ गरिरहेको बताए ।
‘अहिले १० जना भाषा अनुवादकको सहयोग लिएर सोधपुछको काम जारी राखिएको छ, सबै अनुवादक एकैपटक लगाइएको अवस्था छैन,’ परिसर काठमाडौंका प्रमुख सुवेदीले राजधानीसँग भने ।
नेपाल प्रहरीभित्र समेत चीनमा नै अध्ययन गरेर आएका करिब २० जना चिनियाँ भाषा बुझ्न सक्ने अनुवादक छन् । तर, ती सबै तत्काल उपलब्ध नभएकाले बाहिरबाट समेत अनुवादक प्रयोग गरिएको हो । प्रहरीले अफिसियल रूपमा भाषा अनुवाद गर्दा विश्वभाषा क्याम्पसबाट अनुवादक लिने गरेको छ ।
विदेशीमाथि हालसम्मकै सबैभन्दा ठूलो अपरेसन भनेको नेपाल प्रहरीले सो अपरेसनका लागि समेत चिनियाँ भाषा जान्ने भाषा अनुवादक अधिकृत साथमा लगेको थियो । उनीहरूलाई पक्राउ गर्दा प्रहरीले ६ सय जना प्रहरी खटाएको थियो ।
प्रहरीले उनीहरूलाई पक्राउ गर्नुअघि हाम फालेर नभागून भनेर घरका चारैतिर निर्माणजन्य काममा प्रयोग गरिने जालीसमेत विच्छ्याएको थियो । नियन्त्रणमा लिएपछि समेत प्रहरीले उनीहरूसँग अंग्रेजी भाषामा संवादको प्रयास गरेको थियो । तर, उनीहरूले कुनै जवाफ नफर्काएपछि संवादका लागि आफ्ना भाषा अनुवादकको प्रयोग गरेको थियो । प्रहरीलाई उनीहरूसँग बरामद गरिएका ल्यापटप, मोबाइललगायतका सामग्रीमा भएका आवश्यक प्रमाणको अनुसन्धानमा समेत भाषागत समस्या देखिएको छ ।
यस्तै, एक जना चिनियाँसँग उनीहरूको घर ठेगाना सोध्न मात्रै करिब १ घण्टा समय बितेको छ । यस्तै, अनुवादकले समेत उनीहरूबाट आएका कुरालाई अनुवाद गर्दै प्रहरीलाई व्याख्या गर्नुपरिरहेको छ ।
घरबेटीमाथि पनि अनुसन्धान हुने
चिनियाँ नागरिकले प्रयोग गर्दै आएका घरका घरबेटीमाथि समेत प्रहरीले आवश्यकताअनुसार अनुसन्धान गर्ने तयारी गरेको छ ।
सीआईबीका निर्देशक डीआईजी निरजबहादुर शाहीले उनीहरू पक्राउ परेका घरका घरबेटीमाथि समेत आवश्यकताका आधारमा अनुसन्धान हुने बताएका हुन् । पक्राउ परेका चिनियाँ नागरिकले ५० हजार रुपैयाँ भाडा पर्ने घरलाई डेढ लाख रुपैयाँसम्म तिरेको पाइएको प्रहरीले फेला पारेको छ । बढी भाडा पाउने लोभामा घर भाडामा लगाइएकाले घरबेटीमाथि समेत अनुसन्धान हुने प्रहरीले बताएको हो ।
उनीहरूले भाडामा लिएका घरमा काम गर्ने अफिस र होस्टल छुट्टाछुट्टै राखेको र त्यहाँ प्रवेश गर्दा परिचयपत्र देखाउनुपर्ने तथा सुरक्षाका हिसाबले समेत व्यवस्थित रूपमा सञ्चालन गरिएको प्रहरीले बताएको छ ।