भारत हुँदै पसेको अमेरिकी फौजी कीराको प्रकोप बारामा बढ्दो
वीरगंज संजाल
६ पुष २०७६, आईतवार ०९:४७
८४८१
वीरगंज। अमेरिकाको रैथाने कीराको रूपमा चिनिने अमेरिकी फौजी कीरा भारत हुँदै गत वैशाखमा नेपाल प्रवेश गर्दै अहिले देशभरी यसको प्रकोप देखिएको छ।
वैशाख–जेठतिर नेपालको पूर्वी जिल्लामा देखापरेको यो कीरा मुख्यरूपले अहिले पश्चिमतिर र मध्यनेपालमा यसको प्रकोप देखापरेको प्राविधिकहरूले बताएका छन्।
मकै बालीमा विशेषरूपले देखापर्ने यो कीरा धान बाली, गहुँ, जुनेलो, कोदो, उखु, बन्दा, चुकुन्दर, भन्टा, प्याज, आलु, गोलभेंडा, भटमास, कपासलगायतको बालीमा ८० प्रतिशतदेखि शतप्रतिशत क्षति गर्ने गरेकोले नेपालकै प्राविधिकहरू चिन्तित भएका छन्।
एक सातादेखि बाराको परवानीपुर, प्रसौनी, जीतपुरसिमरा, निजगढ, कोल्हवीलगायत स्थानीय तहमा सयौं बिघा खेतमा लगाइएको मकै खेतीमा यसको प्रकोप देखिएपछि क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको संयोजनमा र जिल्ला समन्वय समिति, बाराको आयोजनामा आज परवानीपुरमा मकैबालीमा लाग्ने अमेरिकी फौजी कीराको व्यवस्थापनको लागि सरोकारवालाहरूलाई तालिम दिनुको साथै यसको निदानको लागि खेतमैं गएर विषादी प्रयोग गर्ने तरीका पनि सिकाइएको छ।
जितपुरसिमरा उपमहानगरपालिका–९ बलुवा टोलमा रामचन्द्र महतोले लगाएको ५ कट्ठा खेतमा पूर्णरूपले फौजी कीराको प्रकोप देखिएकोले उनी तनावमा रहेको बताउँछन्। पहिले यस्तो किसिमको कीरा खेतमा नभेटिएको र मकैबालीमा कुनै पनि किसिमको विषादि नहाल्ने महतो यसपालि तीनपटकसम्म जितपुर र परवानीपुर बजारबाट औषधि खरीद गरी छर्केपनि कीरा नमरेको दुःखेसो पोखे।
बलुवाको अधिकांश किसानको खेतमा यस किसिमको कीराले क्षति गरेको छ।
फौजी कीराले यसरी पुर्याउँछ क्षति
खरानी रंगको पुतलीले मकैको हरियो पातमा फुल पार्छ। एक समूहको फुलमा सयदेखि २ सय ससाना अण्डा हुन्छन्। र एक सातापछि ती अण्डाहरू पातको विभिन्न ठाउँमा हरियो पात खाँदै प्वाल बनाउँछन् र लार्भा अवस्थामा पुग्छन्।
लार्भाको ६ वटा चरणमा पुगेर यो वयस्क पुतली बन्छ। ६ वटा लार्भाको चरणमा विशेषगरी यो कीरा मकैको गुभोमा प्रवेश गरी मकैको जुँगा खाने र त्यसपछि मकैलाई नष्ट पार्छ।
विशेषगरी धेरैको समूहमा फौजीजस्तो रातिको समयमा मकै बालीमा आक्रमण गर्ने भएकोले यसलाई फौजी कीरा भनिएको हो। फौर्जी कीरा यसअघि पनि धानबालीमा लागीसकेको र त्यसबाट पनि धेरै क्षति भएको सञ्चार माध्यममा आए तापनि यो अमेरिकी फौजी कीराको त्रासले गर्दा नेपालका कृषक तथा प्राविधिकहरू यसको दिगो निराकरणको बारेमा विभिन्न अनुसन्धान गरिरहेको राष्ट्रिय मकैबाली केन्द्र चितवनका वैज्ञानिक तथा कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कीट विज्ञान महाशाखा खुमलटारका वैज्ञानिक घनश्याम भण्डारीले बताए।
उनले मकैबालीमा लाग्ने यो कीरा नियन्त्रणको लागि शुरूमा गहिरो रूपमा खेत जोत्ने, त्यसपछि घोघा राम्रोसंग खोस्टाले छोप्ने मकैको जात छनोट गर्ने, सही समयमा मकै लगाउने, मकैको वरपर डेस्मोडियम घाँस र छेउमा कीरालाई मनपर्ने नेपियर घाँस लगाएर कीरालाई आकर्षित गर्न सकिन्छ। त्यसपछि मलखाद धेरै नहाल्ने र विषादिहरूमा स्माइनोसाइड ४५ प्रतिशत एससी ०.३ र स्माइनोटोराम ११.७ प्रतिशत एससी ०.५ मिलिलिटर प्रतिलिटर पानीमा हालेर सावधानीपूर्वक मकैको गुभोमा पर्ने गरी छर्किने, त्यसैगरी क्लोरएन्टानिलिप्रोल १८.५ प्रतिशत ०.४ मिलि प्रतिलिटर पानीमा छर्किंदा यो प्रकोपबाट निदान लिन सकिन्छ।
केन्द्रको सभाहलमा आयोजित तालीममा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा निजगढ नपाका प्रमुख सुरेश खनाल, परवानीपुर गापा प्रमुख हरिनारायण साह, प्रसौनी गापाका प्रमुख भोला गुप्ता, करैयामाई गापाकी उपप्रमुख चित्रलेखा चौधरी, सिम्रौनगढ नपाकी उपप्रमुख रीमादेवी यादवलगायत विभिन्न १६ वटा स्थानीय तहका प्राविधि तथा प्रतिनिधिको सहभागिता थियो।