सिमरा । बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन फेरि अदृश्य शक्ति लागिपरेको सरोकारवाला निकायको निष्कर्ष छ । केही दिन अघि मात्रै पर्यटनमन्त्री योगेश भट्टराई बाराको निर्माण क्षेत्रमा अनुगमनका लागि आएर भने, ‘पाँच वर्षमा जहाज उड्छ, दु्रत गतिमा काम सुरु हुन्छ ।’
तर, भट्टराई राजधानी पुग्न नपाउँदै विरोधी अदृश्य तत्वले पत्रिकामा लेख छपाउन थाले । त्यसपछि सुरु भयो यहाँ जंगल मासिने कुरा, पुतली र फट्याँग्रा मासिने कुरा । त्यति मात्रै नभई वातावरण र रूखबिरुवाको रक्षाका लागि भन्दै सर्वोच्चमा रिट पनि बुझाए । वातावरण विद्हरूले यहाँ ३ सय वर्ष पुराना सालका रूखहरू र लोपोन्मुख चराचुरुंगी र जंगली जनावरको विनास गरी विकासका नाममा विमानस्थल बनाउन तयारी गरेको बताउँदै आएको छ ।
ईआईए अध्ययन (वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन)मा यसो छैन । प्रतिवेदनमा कटान गरिने रूखको संख्यामा दोब्बरी बढावा गरी वृक्षरोपण, पानीको मुहान सुक्न नदिने गरी सोको विकल्पसहितको व्यवस्थापन, जंगली जनावर र पर्यावरण नमासिने योजना छन् ।
आयोजना कार्यालयका अनुसार प्रारम्भिक चरणमा करिब १ लाख बढीको हाराहारीमा मात्रै ठूला रूख कटान गरी काम सुरु गर्न सकिने भनेको छ । एउटा मात्रै धावन मार्गको निर्माण गर्नेगरी आयोजनाको डीपीआर तयार गर्न सकिने भनिए पनि पटकपटक वातावरण र रूखबिरुवा मासिने भन्दै विरोधी तत्वहरू लागि पर्दा यहाँ आयोजना निर्माणको अन्योलता उस्तै छ ।
बिहीबार मात्रै बाराको सिमरामा यस आयोजनाका विभिन्न सरोकार समितिहरू र जनप्रतिनिधिहरूले दबाब सिर्जना गर्ने भन्दै अन्तक्र्रिया कार्यक्रमको आयोजना गरे ।
यहाँ आयोजना समयमै निर्माण गर्न दबाब सिर्जना गर्ने र आयोजना निर्माणमा सहयोग पु¥याउने भन्दै आधा दर्जन सरोकार समितिसमेत निर्माण भइसकेका छन् । उनीहरूले बिहीबार संयुक्त कार्यक्रमको आयोजना गरी सम्बद्ध निकायलाई घचघच्याउने काम गरे ।
तत्कालीन समयमा आयोजनाको प्रस्तावमा सहमति जुटाउने अभियानका साक्षी बनेका पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल पनि दबाब कार्यक्रममा उपस्थित थिए । उनले पनि आयोजना निर्माण गर्ने निर्णय भएको २० वर्षमा सिमाना मात्र कायम भएको प्रति दुःख व्यक्त गर्न चुकेनन् ।
कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका प्रमुख/उपप्रमुख, सबै राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवाला निकायको एउटै आवाज थियो, ‘आयोजना जसरी पनि सम्पन्न हुनुपर्छ , विमानस्थल निर्माणमा षड्यन्त्र नहोस् ।’
कार्यक्रममा बोल्ने केही प्रदेश २ का सांसदले आयोजनामाथि षड्यन्त्र गरिए प्रदेश सभा नै चल्न नदिने समेत चेतावनी सरकारलाई दिए । अहिले विमानस्थल बन्नेमा टाँगियावासीका जनता मात्र होइन समग्र प्रदेश २ नै सकारात्मक छ । विरोधी आवाज कहीँ भेटिँदैन । सरकारी पक्ष पनि आयोजना बन्न दिन कुनै कसर बाँकी नराख्ने फलाकिरहेको छ ।