काठमाडौं | काठमाडौं महानगरपालिका-२६, ठमेलस्थित पुरानो वडा कार्यालयको जस्ताले छाएको टहरोमा बुधबार राति आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
सप्तरीको कंचनरुप नगरपालिका–२, महादेवापट्टी बस्ने बिलाल शेखको घरमा बुधबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो।
उदयपुरको चौदण्डीगढी नगरपालिका–८, सिद्धिपुर डाँडा बस्ने राममाया राईको घरमा बुधबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जल्दा करिब २ लाख ५० हजार रुपियाँ बराबरको धनमाल नष्ट भएको छ।
धनुषाको धनुषाधाम नगरपालिका–५, उमाप्रेमपुर बस्ने रामनारायण महराको फुसको घरमा बुधबार राति आगलागी हुँदा घर पूर्ण रूपमा जलेर करिब ४ लाख ३१ हजार रुपियाँ बराबरको धनमाल नष्ट भएको छ।
पर्साको छिपहरमाई गाउँपालिका तुल्सीबार्वा बस्ने चोक मियाँको घरमा करेन्ट सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
काभ्रेको बनेपा नगरपालिका–७, चारदोबाटो बस्ने रोशन श्रेष्ठको घरमा रहेको फर्निचर पसलमा करेन्ट सर्ट भई सोही घरमा रहेको टिभी–फ्रिज पसल, कपडा–जुत्ता पसल र मोवाइल पसल समेतमा बुधबार राति आगलागी भएको छ्। आगलागीबाट ४ वटा पसल पूर्णरूपमा जलेर क्षति भएको छ।
दैलेखको नौमुले गाउँपालिका–८ चौराठा घर भई नारायण नगरपालिका–१ हाइस्कुल अगाडि बस्ने तारा प्रसाद अधिकारीको फेन्सी पसलमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। Nepalnews