देशमा आपत पर्दा बिदा लिने प्रधानमन्त्रीको चर्को आलोचना, मागे माफी
वीरगंज संजाल
४ पुष २०७६, शुक्रबार ०९:११
४३४९
अष्ट्रेलिया । अष्ट्रेलियामा आगलागीको घटना बढ्नुका साथै गर्मी अचाक्ली बढेको बेलामा प्रधानमन्त्री स्कट मोरिसन बिदामा बसेको विषयलाई लिएर सर्वसाधारणबाट चर्को आलोचना भएको छ ।
यो आलोचनापछि प्रधानमन्त्री मोरिसनले क्षमायाचना गरेका छन् । उनी अज्ञात ठाउँमा परिवारसहित बिदामा गएको बताइएको छ । कतिपयले उनी अमेरिकाको हवाइमा बिदा मनाउन गएको बताए पनि सरकारी अधिकारीहरुले भने सो कुरा अस्वीकार गरेका छन् । उनी बिदा मनाउन गएको स्थान खुलिसकेको छैन ।
ट्विटरमा ‘व्हेयर इज स्को मो’ ‘व्हेयर द ब्लडी हेल आर यु’ जस्ता ह्यासटयाग चर्चामा ल्याइएका छन् । यहि बीचमा अष्ट्रेलियामा करिब १०० आगलागीका घटना भएका छन् भने दुईवटा दिन इतिहासमै सबैभन्दा तातो भएको रेकर्ड गरिएको छ । बिहीबार मात्रै दुईजनाको आगलागी नियन्त्रणका क्रममा मृत्यु भएको छ । सो घटना सिडनी नजिकै भएको थियो ।
प्रधानमन्त्री मोरिसनले क्षमायाचना गर्दै आफूले बिदा चाँडो भन्दा चाँडो टुंग्याउने बताएका छन् । उनको अनुपस्थितिलाई लिएर देशभित्र सर्बत्र निन्दा र विरोध भइरहेको छ ।
‘‘आगलागीको समयमा परिवारसहित बिदा लिँदा प्रभावित अष्ट्रेलियनलाई पर्न गएको चोटप्रति म गहिरो खेद व्यक्त गर्दछु,’’ शुक्रबार प्रधानमन्त्रीले भनेका छन् । सेप्टेम्बर यता अष्ट्रेलियाको आगलागीका क्रममा ८ जनाको मृत्यु हुनुका साथै ७ सय घर क्षति भएका छन् । (बीबीसी)