गूगलको बैंक खाता, फेसबुकको मुद्रा र एम्नेस्टीको आरोप
वीरगंज संजाल
३ पुष २०७६, बिहीबार ०५:२५
४५२९
प्रविधिका कारण संसारकै अग्रणी मानिएको गूगलले बैंक खाता सञ्चालन गर्ने समाचार प्रकाशित भएपछि यसलाई फेसबुकले जारी गर्ने भनेको प्रच्छन्न मुद्रासँग जोडेर आम रूपमा अहिले भविष्यमा बैंकिङको स्वरूप कस्तो होला भन्ने जिज्ञासा उत्पन्न हुन थालेको छ ।
यसअघि फेसबुकको अग्रनाममा दुई दर्जनभन्दा बढी विश्वप्रसिद्ध कम्पनीहरू मिलेर ‘लिब्रा’ नामक प्रच्छन्न मुद्रा (क्रिप्टो करेन्सी) जारी गर्ने घोषणा भएपछि विश्व वित्तीय क्षेत्रमा हलचल नै मच्चिएको थियो ।
आगामी १ वर्षभित्र सञ्चालनमा आउने भनिएको यो प्रच्छन्न मुद्राले बिटक्वाइन जस्तै विश्वव्यापी प्रचलनमा आउने अवसर प्राप्त गर्नुका साथै त्यसले फेसबुकको विज्ञापन तथा ई–कमर्श व्यवसायलाई थप उचाइमा लैजाने विश्वास गरिएको छ र यस सन्दर्भमा गूगलले भने सिटी बैंक र स्ट्यानफोर्ड फेडेरल क्रेडिट युनियनसँगको साझेदारीमा स्मार्ट चेकिङ खाता सम्बन्धी सेवा सञ्चालन गर्ने खबरले बैंकिङ जगत्लाई नयाँ आयामतर्फ डोर्याएको प्रतीत हुन्छ ।
गूगल पेमार्फत सञ्चालन हुने ‘क्याच’ नाम गरिएको यो गूगलको खाता सञ्चालनमा आएपछि त्यसले कालान्तरमा बिटक्वाइनजस्ता प्रच्छन्न मुद्राहरूको अस्तित्वमाथि नै भविष्यमा प्रश्न चिह्न खडा गर्ने आकलन गर्नेहरू पनि धेरै छन् ।
हुन त यस सम्बन्धी समाचार विश्व प्रसिद्ध वाल स्ट्रिट जर्नलमा प्रकाशित हुनु र त्यसैको आलोकमा क्रेडिट युनियनले छोटो विज्ञप्ति निकाल्नुबाहेक यस सम्बन्धमा न त गूगलले नै अथवा न त सिटी बैंकले नै आधिकारिक रूपमा थप स्पष्ट पारेका छन् । तर पनि प्रतिष्ठित समाचारपत्रले प्रस्तुत गरेको जानकारी र समाचारलाई सम्बद्ध कुनै पनि पक्षबाट खण्डन पनि नभएको अवस्थामा यसलाई आधिकारिक नै मान्नुपर्ने हुन्छ । बरु हालै मात्र गूगलका प्रवक्ताले यो समाचारको पुष्टि गरेका छन् ।
यदि समाचारमा उल्लेख भएअनुसार नै गूगलले यस्तो खाले स्मार्ट खाता खोल्ने सुविधा प्रदान गर्ने हो भने त्यसले बैंकिङको आधारभूत सेवामा आफ्नो पहुँच स्थापित गर्ने प्रयास मात्र गरेको ठहर्ने छ । परम्परागत रूपमा सञ्चालित समग्र बैंकिङ प्रणालीमाथि नै त्यसले अहिले नै कुनै चुनौती भने सृजना गर्ने कुरा कमसेकम अहिलेलाई असम्भव जस्तै देखिन्छ । किनभने अहिलेको बैंकिङ सेवाको दायरा बृहद् र विस्तारित छ, जसका लागि गूगलले आफ्नो स्वरूपमा नै परिवर्तन गर्नुपर्ने हुन्छ ।
तर पनि एउटा कुरा के सत्य हो भने गूगल जस्तो सबल र बलियो भरपर्दो सञ्जाल भएको कम्पनीले नै सर्वसाधारणका लागि चेकिङ खाता सञ्चालनको सुविधा उपलब्ध गराउने हो भने त्यसले आम बचतकर्तालाई प्रभावकारी रूपमा आकर्षित गर्न सक्छ । फलस्वरूप परम्परागत बैंकिङमा सीमित बैंकहरूमाथि निक्षेप संकलन गर्न ठूलै मेहनत गर्नुपर्ने अवस्था सृजना हुन पुग्ने निश्चित छ ।
यसै पनि सन् १९८० दशकको शुरूतिर नै क्यालिफोर्निया विश्वविद्यालयका एक विद्यार्थीले अगाडि ल्याएको र सन् २००९ मा आएर मात्र बिटक्वाइनका रूपमा मूर्तरूप धारण गरेको प्रच्छन्न मुद्रा अहिले विश्वमा हजारौं मुद्रास्वरूपमा अस्तित्वमा छन् ।
प्रच्छन्न मुद्राले अन्तरराष्ट्रिय कारोबारलाई सहज, छरितो र सस्तो मात्र बनाउने होइन, कारोबार रकम र व्यक्तिका बारेमा गोपनीयतासमेत कायम गर्ने तथा मध्यस्थकर्ता, बैंक तथा अन्य कुनै पनि निकायको उपस्थितिविना नै अन्तरराष्ट्रिय कारोबारलाई सम्भव बनाउने भएकाले कतिपयका लागि यो वरदान नै सावित भएको छ । गूगलको ‘क्याच’ र फेसबुकको ‘लिब्रा’ बीचको मिलनलाई कौतूहलका साथ प्रतीक्षा गरिनुको कारण पनि यही हो ।
लिब्रा जारी गर्नेलगायत सम्पूर्ण व्यवस्थापन गर्ने निकायका रूपमा स्वीटजरल्यान्डको जेनेभामा मुख्यालय हुने गरी ‘लिब्रा फाउन्डेशन’ स्थापना गर्ने घोषणा गरिए जसरी नै गूगलले भने त्यस्तो छुट्टै कम्पनीको व्यवस्था गरेको छैन ।
लिब्रा फाउन्डेशनमा भुक्तानी सेवाप्रदायक मास्टर कार्ड, भिसा, पे पल, दूरसञ्चार प्रदायक भोडा फोन, ब्लक चेन क्वाइन बेस, बुकिङ होल्डिङ, ई–बे, स्पुटिफाई, फेसबुक क्यलिब्रा एवम् गैरनाफामूलक बहुपक्षीय संगठन आबद्ध छन् भने गूगल बैंकमा भने केही प्रतिष्ठित बैंकले सहकार्य गर्ने जनाइएको छ ।
यसै प्रसंगमा फेरि गोपनीयताका सम्बन्धमा फेसबुकलाई केही समयअघि अमेरिकाको फेडेरल ट्रेड कमिशन (एफटीसी) ले ५ अर्ब अमेरिकी डलर जरीवाना गराएको प्रसंग पनि स्मरणीय छ । गार्डियन र अब्जर्भरले ‘क्याम्ब्रिज एनलाइटिका’ काण्ड खुलासा गरेपछि एफटीसीले फेसबुकविरुद्ध अनुसन्धान थालेको थियो । साथै गत अमेरिकी निर्वाचनमा पनि फेसबुक यसैगरी गोपनीयता उल्लङ्घन गरेको सम्बन्धमा गम्भीर विवादमा परेको थियो ।
उता अमेरिकी संसद्को वित्तीय सेवा समितिका अध्यक्षले त कांग्रेस तथा अन्य नियामक निकायले विस्तृत अध्ययन नगरुन्जेल आफ्नो योजना स्थगित गर्न फेसबुकलाई सुझाव दिएको, यूरोपेली संघसँग सम्बद्ध जर्मनी, फ्रान्स, बेलायतले समेत यस्तो डिजिटल मुद्राको नियमनप्रति गम्भीर चासो व्यक्त गरेको, फ्रान्सले यस्तो मुद्रा आतंकवादलाई प्रोत्साहन दिने क्रियाकलापमा दुरुपयोग नहुने भरपर्दो विश्वास खोजेको र जर्मनी तथा बेलायतले पनि सम्पत्ति शुद्धीकरण र आतंकवादमा हुन सक्ने सम्भावित दुरुपयोगप्रति नै चासो व्यक्त गरेको पाइन्छ । यस्तो अवस्थामा गूगलले सञ्चालन गर्ने भनिएको खाताका बारेमा भने अन्तरराष्ट्रिय समुदायबाट पर्याप्त टिप्पणी आइसकेको छैन ।
तर, हालै आएर एम्नेस्टी इन्टरनेशनल जस्तो प्रतिष्ठित विश्वव्यापी मानवअधिकार संगठनले समेत फेसबुक, गूगल जस्ता सञ्जाल सञ्चालकहरूले आधारभूत मानवअधिकार हनन गरिरहेको गम्भीर आरोप लगाएको छ । गूगल र फेसबुकको व्यवसायको प्रकृति नै निगरानीमा आधारित भएकाले यसले व्यक्तिगत सूचनालाई निरन्तर निगरानी गरी आधारभूत मानवअधिकार हनन गरेको एम्नेस्टीको आरोप छ । यद्यपि यी दुवै कम्पनीले एम्नेस्टीको आरोपप्रति गम्भीर रूपमा नै असहमति व्यक्त गरिसकेका छन् तर पनि एम्नेस्टीले भने यी सञ्जालमार्फत व्यक्तिले गर्ने विभिन्न गतिविधिको विश्लेषण र उनीहरूका बारेमा सूक्ष्म निगरानी गरी सोहीअनुरूप प्राप्त तथ्यांकलाई आफ्नो तथा अन्य विभिन्न व्यवसायीको व्यवसाय प्रवर्द्धनका लागि दुरुपयोग गर्ने गरेको आरोप लगाएको छ ।
वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले पनि यस्ता इन्टरनेटमा आधारित बैंक खाता तथा प्रच्छन्न मुद्राको कारोबारमा हुन सक्ने सम्पत्ति शुद्धीकरणको जोखिमबाट बच्न थप सावधानी अपनाउन आफ्ना सदस्य राष्ट्रहरूलाई सचेत गराइसकेको छ ।
इन्टरनेटको अविष्कार भएको ३० वर्ष पछिसम्म पनि बैंकिङ पहुँच नपाएका करीब १ अर्ब ७० करोड मानिसले फेसबुकको लिब्रा जस्तो विद्युतीय प्रच्छन्न मुद्रामा गूगल जस्तो बृहद् सञ्जाल भएको विद्युतीय मञ्चमा कारोबार हुने भएपछि त्यसले मुद्रा र वित्तीय कारोबारको दिशामा विश्वव्यापी रूपमा नै एक नौलो आयाम विकास गर्ने कुरामा सन्देह छैन ।