काठमाडौं । औषत १९ वर्षका खेलाडी रहेको टिमलाई मैदान उतारेको लिभरपुल एस्टनभिल्लासँग पराजित हुँदै ईएफएल कपबाट बाहिरिएको छ ।मंगलबार राति भएको पहिलो क्वाटरफाइनलमा लिभरपुल एस्टन भिल्लासँग ५–० को फराकिलो अन्तरले पराजित भएको हो ।
क्लबका सिनियर खेलाडी कतारमा हुने क्लब विश्वकपको तयारीमा रहँदा यू२३ म्यानेजर नेल क्रिचलेले लिभरपुलको प्रशिक्षण सम्हालेका थिए । उनले ६ खेलाडीलाई डेब्युसमेत गराएका थिए। उता एस्टनभिल्लाले पनि प्रिमियर लिगमा शेफिल्डसँग हारेको टिममा १० परिवर्तन गरेको थियो ।
लिभरपुल सन् २००७–०८ को सिजनयता पहिलोपटक यस प्रतियोगितामा क्वाटरफाइनलबाटै बाहिरिएको हो । उता सन् २०१३ पछि एस्टनभिल्लालाई सेमिफाइनल पुर्याउने क्रममा जोनाथान कोड्जिअले दुई तथा कोनोर हुरिहाने र वेस्लेले १–१ गोल गरे । लिभरपुलका मोर्गन बोएसले एक आत्मघाती गोल उपहार दिए । onlinekhabar