मुम्बईको कोठीजस्तो काठमाडौं ! उनले सुनाइन् र संसार छाडिन्
वीरगंज संजाल
२ पुष २०७६, बुधबार ०५:२७
५५५३
काठमाडौं । साँझको त्यस्तै आठ बजेतिर हो । मानव सेवा आश्रमका सुमन गर्तौलाले फोन गरे, ‘आस्था (नाम परिवर्तन) दिदी त बित्नुभयो नि !’अमर न्यौपानेले एउटा लेख लेखका थिए, ‘छुटेका पात्रहरु ।’ उपन्यासमा मात्र होइन, पत्रकारितामा थुप्रै पात्र, घटनाहरु छुट्छन् – कहीँ प्रमाण नपुगेर, कहीँ ‘न्युज सेन्स’ नपुगेर, कहीँ लेख्दै नलेखेर ।’
दुई हप्ताअघि उनै सुमनले नै फोन गरेका थिए, ‘हामीले एकदमै फरक पात्रलाई उद्दार गरेका छौँ, जसलाई दुई वर्षदेखि गोंगबुको एक होटलमा बन्दी बनाएर यौन शोषण गरिएको थियो ।’काठमाडौंमा यौन तस्करको जालो पहिल्याइनसक्नुको छ । पैसाका नाममा शोषण गर्ने संसारको सबैभन्दा घृणित काम हो । सुमनले सुनाए, ‘उहाँ वीर हस्पीटलको आईसीयूमा हुनुहुन्छ । कलेजो ड्यामेज छ । यौनाङ्ग सद्दे छैन । बचाउन मुस्किल छ ।’
वीर अस्पतालको आईसीयु कक्ष । आस्था घ्यार घ्यार गरिरहेकी थिइन् । सलाइन पानी अविरल थियो । मुटुबाट तार जोडेर आस्थाको टाउकोमाथि झुण्डिएको मनिटरले उनको घ्यार घ्यारलाई मन्द गराइदिएको थियो – टुट्, टुट् टुट्, टु…।
आस्था मात्र २३ वर्षकी । तर, बेदनाले थिलथिलो पारेको उनको अनुहारले भनिरहेको थियो कि उनको उमेर त्योभन्दा दोब्बर हो । शरीर कट्कटिएको थियो । मरिचजस्तो चाउरिएको उनको शरीर देख्दा लाग्थ्यो – भर्खर १४/१५ वर्ष पुगिन् ।
यति सानो उमेरकी आस्थाको पेट कत्रो ! रातो ब्लाङ्केटभित्र सुतिरहेकी आस्थाको फुलेको पेट देख्दा लाग्थ्यो, उनी गर्भवती छिन् । तर, चिकित्सकले भने, ‘उहाँको कलेजो प्रत्यारोपण गर्नुपर्छ । यसबाहेक कुनै विकल्प छैन । त्यसैको साइड इफेक्टले यसरी पेट फुलेको हो ।’ धन्न अहिलेसम्म मुटुले काम गरिरहेको थियो ।
०००
‘अपराधीलाई समात्न सहयोग होस् भनेर तपाईसँग कुरा गर्न आएको ।’
आस्थालाई कुराकानीका लागि विश्वासमा लिनु थियो । तीन/चार जनाको भिड देख्ने वित्तिकै शुरुमा त उनको अनुहार भयले भरियो । एकैछिनमा खै के सोचिन् । दुई आँखालाई बरर आँशुले भराइन् ।
बेडमुनि पिसाब थैली झुण्डिएको थियो ।
आधा भरिएको पिसाब थैली हेर्दै सोध्यौं, ‘बोल्न सक्नुहुन्छ ?’
उनले टाउको हल्लाइन् । उनी यसरी कुरा गर्दैछिन् कि मानौं भर्खर कुनै धावक दौडदै आई हतारमा केही सुनाउँदैछ ।
०००
आस्थाले आफ्नो जीवन यात्रा १३ वर्षको उमेरबाट शुरु गरिन् । जतिबेला उनको बिहे भएको थियो । बिहेपछि नै हो उनको जीवनमा ठूल्ठूलो भूकम्प आएको ।
घर – बाग्लुङ बुर्तिवाङ ।
मोटरबाटो निर्माण हुँदै थियो । केही आम्दानी हुने भएपछि आस्था पनि बाटाको काममा जोतिन थालिन् ।
बाटो बनाउने काममा धेरै जिल्लाबाट मजदुरहरु पुगेका थिए । सिन्धुपाल्चोकका एक युवक उसै गरी बाटोमा काम गर्दै थिए । त्यहीँबाट आस्थाको बाटो बदलियो । त्यही युवासँग बिहे गरेर उनी सिन्धुपाल्चोकको मेलम्ची पुगिन् ।
एक डेढ वर्षसम्म त आस्थालाई लाग्यो – खुब माया गर्ने श्रीमान पाएँ । तर, पछि उनैले आस्थालाई भकुर्न थाले । श्रीमानले आस्थालाई भन्दा अरु नै युवतीहरुलाई माया गर्दै हिँड्न थाले । आस्था बोल्छिन्, ‘आगो फुक्ने फलामको ढुंग्रै ढुंग्रोले हिर्काउँथ्यो ।’
तर, जाने कहाँ ? हजार चोट सहे पनि पतिब्रत हुनैपर्छ महिलालाई । १४ वर्षमा छोरी र १६ वर्षमा छोरा जन्माइन् । यतिबेलासम्म श्रीमान गाडी चालक बनिसकेका थिए ।
परिवारको अर्थतन्त्र नाजुक थियो । श्रीमान भने गाडीको स्टेरिङ छोडेर घर आइपुग्दा हल्लिरहेका हुन्थे – अफरोडमा गुडेको गाडी जसरी । मुखबाट ह्वास्स गन्ध आएपछि आस्थाले मनमनै भन्थिन, ‘आज पनि खाएर खाएछ ।’ अनि श्रीमानले आस्थालाई ड्याङ कि ड्याङ ठटाउँथे । ‘एकपटक त कुटेर खुट्टै भाँचिदियो । प्लास्टर गरेर तीन महिना थला बसेँ’, आस्था बुर्तिवाङे लवजमा बोलिन् ।
तर, एक दिन श्रीमान अबेरसम्म पनि घर आइपुगेनन् । अर्को दिन बिहानै छिमेकीले पनि श्रीमानको खबर ल्याए, ‘तेरो बुढा त पोखरीमा तैरिएको छ ।’ आस्था अत्तालिइन् । खुट्टामा प्लास्टर थियो । लौरो टेकेर खच्याउँदै पोखरी छेउ पगिन् ।
आस्थाका आँखा फेरि टिल्पिलाउँछ, ‘गाडीबाट झिकेर कसले नाकमा इट्टाले हिर्काएछ । बुढो मर्यो ।’ बिहे गर्ने उमेर नपुग्दै आस्थाको सिन्दुर पुछियो । बाग्लुङको दक्षिण भेगमा बालविवाहको अहिले पनि उस्तै छ ।
श्रीमान वियोगको घाउ आलै थियो । आस्था दुई बच्चा च्यापेर माइत फर्किइन् ।
त्यहीबेला उनी मातृवियोगमा परिन् । बाबा – भारतीय सैनिक । लडाइको मैडानमा गएको जवान फर्किन्छ कि फर्किदैन थाहा हुँदैन । आस्थाका बाबा पनि नफर्किएको थुप्रै वर्ष भएको थियो । उनले नफर्कने गरी पृथ्वी नै छाडिसकेका थिए । आस्था एक्ली छोरी ।
कति बस्नु माइतीको आँगनमा ? उनी ढोकामा ताल्चा ठाकेर बुर्तिवाङ बजार झरिन् । र, होटेलमा भाँडा माझ्ने, पोछो लाउने, खाना पकाउने काम थालिन् । ‘साहुले पैसा दिन्थेन । त्यहीँ खाने बस्ने’, आस्थाको स्वर भासिन्छ ।
एक वर्ष जति भएको थियो । एकजना दिदीले भनिन्, ‘हिँड नगरकोट घुम्न जाउँ, तिम्रो घर पनि पुर्याइदिउँला ।’
साँच्चिकै अस्थालाई फेरि एकपटक मेलम्ची घर जान मन लाग्यो । पैसा पनि कहाँ थियो र ! भाडा दिदीले नै हालिदिइन् । आस्था बसमा काठमाडौं हुइँकिइन् । साँझ परिसकेको थियो । गोंगबुको पुलमुनि आएपछि दिदीले भनिन्, ‘अर्को टिकट लिनुपर्छ । बस्दै गर म आइहाल्छु है ।’
‘मंसिरको महिना । खुब चिसो थियो । पर्खिरहेँ । पर्खिरहेँ । आउँदै आइन । रातको ११ बजेसम्म पनि आइन’, विगतमा डुबिरहेकी छिन् आस्था ।
दिउँसोको दुई बज्दैछ । नर्सहरु उनको फाइल हेर्दैछन् । एकजना नर्सले आस्थाको काखीमा थर्मोमिटर च्यापिदिइन् । उनको सम्झनामा ब्रेक लाग्यो । पिसाब थैली पनि भरिसकेछ । कोही आए र उनको पिसाबजगमा राखेर छेवैको ट्वाइलेटमा खनाइदिए । वीर अस्पतालको आईसीयूमा आस्थाको नवौं दिन चल्दैछ ।
आस्था यहाँसम्म कसरी आइपुगिन् ? उनको हालत किन यति खराब भयो ? उनले त्यही अँध्यारो रातबाट अध्याँरो कथा सुनाउन शुरु गरिन् ।
एक्लै कक्रिरहेकी आस्थासम्म प्रहरी आए र सोधे, चिया पिउनुहुन्छ ? अनि एक कप चिया दिए । चिया पिएपछि प्रहरीले भने ः अप्ठ्यारो परेको हो भने मेरो भाइबुहारीकहाँ बस्नुस् । आस्थाले देउता भेट्टाइन् । तर, अब जिन्दगीले आस्थालाई कहाँ–कहाँ पुर्याउँछ उनलाई नै थाहा छैन ।
आस्था बस्नलाई जहाँ पुगिन्, उनी पनि प्रहरी नै रहेछन् । श्रीमती गर्भवती । ‘दाइ ड्युटी जानुहुन्थ्यो । मैले भाउजूको हेरचाह गरेर बसेँ’, आस्थाले सम्झिइन्, खाना पकाउने कपडा धुने घरायसी सबै काम गरेँ ।’
‘होइन, अरुको घरमा कति दिन बस्नु ?’, एक हप्ता बसेपछि आस्थाले सोचिन् । र, सोच्दा सोच्दै काम खोज्न निस्किइन् ।
एक दिन साहुनीले भनिन्, ‘चिकेन लेग पिस, वियर र पानी लगेर माथि जाउ त ।’ आज्ञाकारी बालिकाझैं उनी भनेको कोठामा पुगिन् र ट्रे टेबुलमा राखिदिइन् । ‘त्यो केटाले च्याप्प मेरो नाडी समात्यो । मैले छोड्नुस् भन्दै हात झड्कारेर भनेँ – अर्काकी छोरीको हात किन समाउनुहुन्छ ? घरमा तपाईका दिदीबहिनी छैनन् ?
गोंगबुको खचाखच अञ्जान यात्रीको भीडमा उनी पनि मिसिइन् । उनीसँगै हिँडिरहेका अरु पनि कामकै खोजीमा थिए होला । कोही स्वदेशमै त कोही विदेशमा । बसपार्क हो, हरेक किसिमका मान्छे भेटिन्छन् यहाँ ।
आस्थाले होटल चाहारिन् । उनले जान्ने काम भनेकै खाना पकाउने, भाँडा माझ्ने, पोछा लगाउने, कपडा धुने नै त हो ।
साँच्चै उनले काम भेट्टाइन् । पाँच तला अग्लो होटलमा । शुरुवाती तलब तोकियो – रु आठ हजार ।
शुरुमा त भाँडा माझ्नेदेखि सिरकको खोल फेर्नेसम्मको काम उनकै भागमा पर्यो । केही समयपछि भान्सामा पनि सघाउन शुरु गरिन् । तर, उनलाई होटलबाट बाहिर निस्कन बन्देज गरियो । उनले यसलाई त्यति गम्भीर रुपमा लिनुपर्ने कारण देखिनन् ।
होटलमा अरु पनि युवती थिए । कोही उनका उमेरभन्दा जेठी पनि । पुरुष–महिलाहरुको उपस्थिति निकै बाक्लो थियो । उनलाई यसको खास मतलव थिएन । मतलव त थियो, ‘सिन्धुपाल्चोकमा जेठाजुले स्याहार गरिरहेका छोरा र छोरीको । उनलाई लागेको थियो, केही खर्च पठाउन पाए छोराछोरीलाई पढ्न सजिलो हुन्थ्यो ।
होटलकी साहुनीबाट आस्थाले माया नै पाएकी थिइन् । बाहिर निस्कनै नदिए पनि बेलाबेला नयाँ कपडा किनेर ल्याइदिन्थिन् । बिहान, दिउँसो र बेलुकी खान पनि पाएकै थिइन् । त्यही हो, तोकेजति आस्थाले पारिश्रमिक पाएकी थिइनन् ।
उनले काम गर्न थालेको तीन महिना पुग्दै थियो । एक दिन साहुनीले भनिन्, ‘चिकेन लेग पिस, वियर र पानी लगेर माथि जाउ त ।’ आज्ञाकारी बालिकाझैं उनी भनेको कोठामा पुगिन् र ट्रे टेबुलमा राखिदिइन् । ‘त्यो केटाले च्याप्प मेरो नाडी समात्यो । मैले छोड्नुस् भन्दै हात झड्कारेर भनेँ – अर्काकी छोरीको हात किन समाउनुहुन्छ ? घरमा तपाईका दिदीबहिनी छैनन् ? यति भनेर म दौडिँदै साहुनीसँग पुगेँ ।’
त्यसपछि आइरहन्छ उनको जीवनमा भूकम्प ।
साहुनीले भनिन्, माथि नबसेर किन झरेको ? साहुनीले घिस्याउँदै त्यही कोठा पुर्याइन् र बाहिरबाट चुक्कुल ठोकिदिइन् । उनको आस्था बेचियो ।
केही छिनपछि साहुनी ढोकाबाट छिरिन् । र, जगल्ट्यादै तल ल्याइन् । ‘छेउमै भगभक उम्लिएको पानी थियो, ‘यही होइन तेरो बलियो हात, मेरो मासुभात खाएको हात’ भनेर हातभरि तातोपानी खन्याइदिइन् ।’ आस्थाले डढेको सिकुटे हात देखाउँदै भनिन् ।
आस्था त्यहाँबाट उम्कन सक्ने ठाउँ थिएन । उनले विस्तारै साहुनीले जसो भन्छिन्, त्यसै गर्न थालिन् । नत्र उनले शरीर चुरोटको ठुटाले पोलिन्थ्यो । हातमा लौरो बजारिनेवाला थियो । त्यहाँ नेपाली ग्राहक मात्र आउँदैनथे । ‘जस्ता मान्छेहरु पनि आउँथे । भैयाहरु पनि आउँथे, ड्राइभर खलासी सबै आउँथे’, उनी केही नलुकाई सुनाउँछिन्, ‘भनेको मानेन भने चुरोटको ठुटाले पोलिदिन्थे, कुट्थे ।’ साहुनीले ती ग्राहकबाट एक हजारदेखि पाँच हजार रुपैयाँसम्म असुल्थिन् । आस्थाको भागमा भने चोट र चुरोटको ठुटाका डोबहरु मात्र ।
साहुनीले साहुको गर्भ बोकेकी थिइन् । डेलिभरीका लागि अस्पताल भर्ना गर्नुपर्यो । होटलको रेखदेखको सम्पूर्ण जिम्मा साहुको भागमा आइपुग्यो । पहिलो दिनको साँझ नै साहुले भने, ‘घिउमा यत्ति रक्सी झान्दे त कान्छी ।’ आस्थाले रक्सी खाने अफर अस्वीकार गरिन् । तर, साहुले जबरजस्ती मुखमा कोच्याइदिए ।
साहुले रक्सीमा मात्र होइन, जबरजस्ती करणी नै गरे । वीर अस्पतालको बेडबाट उनले सम्झिइन्, ‘उसकी श्रीमती ११ दिनपछि हस्पिटलबाट फर्किएपछि बल्ल मुक्त भएँ, अहिले त छोरा पनि टुकुर–टुकर हिँड्न थाले होला ।’
कहालीलाग्दा दिनहरुसँग संघर्ष गर्न थालेको डेढ वर्ष हुन थालको थियो । आस्थाको गोप्य अंग सुन्निन थाल्यो । घाउ भयो । कहिलेकाहीँ दोहोरी साँझ जाने युवतीलाई उनले मल्हम ल्याइदिन भन्थिन् । तर, देख्यो कि साहुनीले औषधि हुर्याइदिन्थिन् । फेरि एक्कासी पेट फुल्न थाल्यो ।
एक दिन दिउँसोको मौका छोपेर होटेलबाट फुत्त बाहिर निस्कने अवसर पाइन् उनले । सम्पूर्ण लुटिएपछि उनलाई बाहिरको एक कप चिया खाने रहर भयो । तर, बाटोमै ढलिन् । जब थाहा पाइन्, उनी एउटा घरको छतमा थिइन् । एक हुल मानिसले घेरेका थिए । उनले अगाडिको थालीमा भएको स्याउ टोकिन् ।
आईसीयु कक्षमा उनलाई कुरिरहेकी आस्मा ढकालले सुनाइन् एक महिनासम्म त उहाँ राम्रोसँग बोल्न पनि सक्नुभएन । नजिकिँदै गएपछि अस्तिमात्र मसँग यी सब कुरा बताउनुभयो ।’
०००
कात्तिक ५ गते स्थानीयले मानव सेवा आश्रममा सम्पर्क गरेका थिए, ‘यहाँ बाटोमा एक महिला अलपत्र अवस्थामा ढल्नुभएको छ ।’ हतार–हतार आश्रमका अभियन्ताहरु भ्यान लिएर गोंगबु पुगे ।
उद्धारपछि उनलाई ग्रीनसिटी हस्पिटल पुर्याइयो । प्राइभेट हस्पिटलमा उपचार गराउन खर्चले सम्भव देखिएन । वीरको आईसीयू कक्ष खाली हुनासाथ यहाँ ल्याइपुर्याइयो । आईसीयु कक्षमा रहेकी आस्थाले भनिन्, ‘बाँच्न निकै गाह्रो भयो भाइ, छोराछोरीलाई जम्मा गरेको केही पैसा पठाइदिन पाए हुन्थ्यो ।’
‘तपाई हिँड्न सक्नुहुन्छ ?’
‘मजाले सक्छु । अब जाने हो, त्यसलाई समाउन ।’
यो उनको आत्मविश्वास मात्र हो । प्रहरीले दोषीलाई पक्राउ गर्न थालेको खबर सुनेपछि उनी उत्साहित भएकी थिइन् । उनको निराश अनुहारमा अलिकति भए पनि जोस भरिएको थियो ।
०००
हामी वीर अस्पतालबाट निस्कियौं । काठमाडौंलाई एकपटक बम्बईको कोठीको नजरले हेर्यौं । के काठमाडौं बम्बईको कोठीजस्तो बन्दैछ ?
आस्थाले भनेजस्तै उनलाई बाँच्न साह्रै गाह्रो भएछ । एक हप्तापछि नै उनी अस्ताइन् । तर, केही बोलेर ।
नेपालमा थुप्रै महिला छन्, जसका यस्तै दारुण अत्याचारका पीडाहरु स्मसान घाटमा धुवाँसँगै उडेर सकिन्छन् ।
हामीले प्रहरीसँग सम्पर्क गर्यौं, उनले भनेको गोंगबूको कोठी भेटियो ? प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भने, ‘हामीले उहाँलाई गाडीमा राखेर गोंगबुमा घर खोज्यौँ । तर, भेटिएन । उनको बोलीलाई आधार मान्दै वकिलसँग प्रमाणित गरेर तीन जनालाई मुद्दा चलाएका छौँ ।’
प्रहरीले १९ दिनअघि प्युठानका कृष्णबहादुर जिसी, सुर्खेतका कर्णबहादुर चन्द र गुल्मीका रुद्रबहादुर पछाइलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
उनीहरु विभिन्न होटेलका सञ्चालक भएको र मानव बेचबिखनको आरोपमा पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए । अदालतमा मुद्दा भने दायर भैसकेको छैन ।