वीरगन्जमा तरकारीमा विष मिसाएर आफू र परिवारका सदस्यहरुलाई खुवाउँदा
वीरगंज संजाल
१ पुष २०७६, मंगलवार २३:१७
७१६७
वीरगन्ज : तरकारीमा विष मिसाएर आफू र परिवारका सदस्यहरुलाई खुवाउँदा वीरगन्जमा आमाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । पर्साको वीरगन्ज महानगरपालिका २४ बहुअरीका जगदीश प्रसाद कुर्मीकी श्रीमती राधिका देवीले सोमबार बेलुकी तरकारीमा विष हाली आफू र आफ्नो परिवारका सदस्यलाई खुवाउँदा राधिकाको ज्यान गएको हो ।
विष प्रयोगबाट गम्भीर घाइते भएकी राधिकालाई उपचारको लागि राति नै वीरगन्जको तराई अस्पतालमा ल्याएको थियो । तर, उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।यसैगरी विष प्रयोग गरिएको तरकारी खाँदा राधिकाको तीन वर्षीय छोरा विवेक प्रसाद कुर्मी, जगदीशका जेठी श्रीमतीका तीन छोरा र एक छोरी समेत गम्भीर घाइते भएका छन् ।
घाइते उनीहरुको तराई अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगन्जको नेशनल मेडिकल कलेजको आईसियू कक्षमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।गम्भीर घाइते हुनेमा जेठी श्रीमतीका २० वर्षीय छोरा राकेश कुर्मी, १९ वर्षीय विकास कुर्मी, १७ वर्षीय मानसा पटेल र १६ वर्षीय विशाल पटेल रहेका छन् ।
उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएको छ । गहुँमा किरा मार्न प्रयोग गरिने अल्मुनियम फस्फेट नामक विषादी प्रयोग गरेको चिकित्सकले जनाएको छ ।मृतक राधिकाको शव परीक्षणको लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ । घटना बारे अनुसन्धान भइरहेको पर्साको प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले बताए ।बिहानको खाना कसले पकाउने विषयमा राधिका र सौतेनी पट्टीकी छोरी मानसीबीच झगडा हुँदा घटना निम्तिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।thenepaltop