पर्साको पोखरीयामा हिजो राति बिभिन्न ११ ठाउँमा भिषण आगलागि
वीरगंज संजाल
१ पुष २०७६, मंगलवार १०:०२
१०७११
वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा वडा नम्बर ४ र ५ मा सोमबार राति ११ ठाउँमा आगलागी भएको छ। साढे ९ बजेतिरदेखि शुरु भएको आगो श्रृंखलाबद्ध रुपमा ११ ठाउँमा लागेको हो।
पोखरिया नगरपालिकाको वडा नम्बर ५ सतबरियामा परालको कुन्यूबाट शुरु भएको आगो मंगलबार बिहान राती १ बजे सम्म लागेको थियो। वडानम्बर ५ बाट सुरु भएको आगो अन्तिममा पोखरिया वडा नम्बर ४ पोखरिया बजार क्षेत्रसम्ममा फैलिएको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियारले बताए।
९ बजेर १५ मिनेटमा पोखरिया ५ को सतबरियाका प्रेम रामको परालमा पहिले आगो देखा परेको थियो। त्यो निभाउँन दमकलसहितका मानिस पुग्दा अलि पर जमुना साह तेलीको परालमा नै आगो देखियो।
त्यो निभाउँदा विनोद बाबाको झुपडी, हुँदै पोखरिया ४ को चोकट राउत डोमको झुपडी, प्रेम रामको घुम्ती पसल र भरत सिंहको घरसम्म आगो पुग्यो। आगो जताजता देखियो उतै निभाउँदै गयौं उनले भने।
एकै रातमा शृंखलाबद्ध रुपमा अलग–अलग ठाउँमा लागेको आगोलाई पोखरिया र वीरगन्ज महानगरपालिकाबाट गएका दमकल र स्थानीय, प्रहरी, प्रशासनले राती १ बजेतिर नियन्त्रणमा लिएको नगरप्रमुख रौनियारले बताए।
आगो लाग्नु पूर्व कतै गुनगुन मानिसको आवाज र कतै तिब्र गतिमा मोटरसाइकल चलेको भन्ने स्थानीयको कुराले आगो लाग्नुको पछाडि कसैको हात हुनसक्ने अनुमान गरिएको नगरप्रमुख रौनियारले बताए।
आगोले प्रेम रामको घुम्ती पसल र भरत सिंहको घरमा बढि क्षति पु¥याएको छ। रातको समय भएकोले विभिन्न ठाउँमा लगातार आगो लागेकोले राति आगोलाई नियन्त्रणमा लिने काममात्र भएकोले क्षतिको विवरण अहिले संकलन हुँदै गरेको पर्सा प्रहरीले जनाएको छ।
११ ठाउँमध्ये चारपाँच ठाउँमा परालको कुन्यूमा र बाँकी ठाउँमा दिउसो मानिस बस्न सुत्न बनाएका झुपडी, केही घर र घुम्ती पसलमा लागेको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले थाहा खबरसँग बताए। एकै रातमा विभिन्न ठाउँमा लगातार कसरी आगो लाग्यो भन्ने सन्दर्भमा अनुसन्धान शुुरु भएको उनको भनाइ छ।