पर्साका आधा दर्जन खोलाको अझै टेण्डर भएन, निर्माण सामाग्री अभावले विकास प्रभावित
वीरगंज संजाल
१४ मंसिर २०७६, शनिबार ०६:३०
६७०३
वीरगंज। पर्सा जिल्लाका आधा दर्जन खोलाको टेण्डर नहुँदा पर्सामा बालुवा,गिट्टी र ढुंगा अभाव भएको छ । विगतमा जिल्ला विकास समितिको पहलमा एकल अधिकारबाट खोलाका टेण्डर लगाउने प्रकृया हुन्थ्यो।
तर अहिले गाउँपालिकालाई अधिकार भएपछि समयमा टेण्डर लाग्न नसकेको हो। पर्साको वीरगंज महानगरमा पर्ने भेडाहा खोला,पर्सागढीमा पर्ने कर्जनिया र सिङ्याही, पटेर्वा सुगौंली भित्र पर्ने गादी खोला, पटेर्वा सुगौली र जिरा भवानीपुर गाउँपालिका भित्र पर्ने भलुवाही र सखुवा प्रसौनी तथा पटेर्वा सुगौली भित्र पर्ने जमुनी खोलाको समयमा टेण्डर हुन सकेको छैन।
वीरगज उद्योग वाणिज्य संघले विज्ञप्ती निकाली पर्साका खोलाहरुको टेण्डर समयमा नहुँदा निर्माण सामग्रीको चरम अभाव भएको जनाएको छ। निर्माण सामग्रीको अभावले गर्दा राष्ट्रिय गौरबको आयोजना देखि व्यापारिक मार्ग,सडक,होटल निर्माणमा समस्या भएको संघका अध्यक्ष गोपाल केडियाले बताए। उनले भने,‘ एउटा पनि खोलाको टेण्डर लागेको छैन, निर्धारित समय भन्दा करिब डेढ महिना ढिला भइसकेको छ। यसले सम्पूर्ण निर्माण क्षेत्रमा असर पारेको छ ।’
जिल्ला समन्वय समितिका सभापति नेकमहम्द अन्सारीले पाँच वटा खोला मध्ये चार वटाको वातावरणीय प्रभाव मूल्याकन(ईआईए) प्रतिवेदन लगभग स्वीकृत भइसकेको एक महिनाभित्रै टेण्डर गर्ने बताए। उनले जमुनी बाहेक सबै खोलाको प्रकृया अघि बढेकोले चाँडै टेण्डर लाग्ने बताए।
तस्करलाई वहार पर्सागढी नगरपालिका अन्तर्गतका खोलाहरूबाट अनधिकृत रूपमा बालुवा,गिट्टी तथा ढुंगाको व्यापक रूपमा तस्करी भइरहेको छ ।
पर्साको भेडहा,कर्जनिया,सिङयाही,भलुवाही,जमुनी लगायत खोलाबाट दैनिक तस्करीको ट्रयाक्टरबाट निर्माण सामग्री चोरी निकासी भइरहेको स्थानीयहरुले बताएका छन् ।
ट्याक्टरधनीहरूले सम्बन्धित निकायलाई आर्थिक प्रभावमा पारेर राष्ट्रिय वनसँग जोडिएका खोलाहरूबाट गिट्टी, बालुवाको तस्करी उनीहरुले बताए। सब–डिभिजन वन कार्यालय बडनिहार, छतवन टाँडी रेन्जपोस्ट र मनवा रेन्जपोस्टको गेट अगाडिको सडकबाट दर्जनौं ट्याक्टरले गिट्टी, बालुवा र ढुङ्गा ल्याइरहेका छन्।
वन कर्मचारीहरूले प्रतिट्रिप तीन सयदेखि पाँच सयसम्म लिएर गिट्टी र बालुवा निकासी भइरहेको स्थानीयको आरोप छ।