प्रदेश २ मा चार महिनाभित्र ६० हजार सवारी साधन परे कारबाहीमा
वीरगंज संजाल
१४ मंसिर २०७६, शनिबार ०६:१४
६६१३
वीरगंज : प्रदेश नम्बर २ मा चालू आर्थिक वर्षको चार महिनामा करिब ६० हजार सवारी साधन कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट ३ करोड ६८ लाख ६० हजार राजस्व संकलन भएको ट्राफिक कार्यालय पथलैयाले जनाएको छ।
कार्यालय प्रमुख एसपी योगबहादुर पालका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने ५९ हजार ९ सय ५ वटा सवारीसाधनलाई पछिल्लो चार महिनामा कारबाही गरिएको थियो।
चार महिनाको तथ्यांक हेर्दा साउनदेखि कात्तिकसम्म १९ हजार ९ सय ६९ ट्रकबाट १ करोड ३६ लाख ५ हजार, ४ हजार ९९३ बसबाट ३१ लाख ३९ हजार, ७ हजार २२५ वटा कार, जीप, भ्यानबाट ४० लाख ४० हजार, ३ हजार ५२ ट्र्याक्टरबाट २० लाख १० हजार, २० हजार ५५४ मोटरसाइकलबाट १ करोड १८ लाख ७९ हजार र ३ हजार ६३६ वटा टेम्पोलाई कारबाई गरेबापत २१ लाख ७ हजार रुपैयाँ राजस्व असुली भएको छ।
तथ्यांक अनुसार सबैभन्दा बढी मोटरसाइकल चालकले ट्राफिक नियम उल्लंघन गरेका छन् भने ई–रिक्शा कम कारबाहीमा परेका छन्।