जनकपुरधाम | विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन धनुष यज्ञको तयारी पूरा भएको छ। धनुषयज्ञका लागि ऐतिहासिक रंगभुमि मैदानमा विशेष मञ्च बनाइएको छ। त्रेतायुगमा भगवान रामले धनुष तोडेपछि सितासँग विवाह पक्का भएको सम्झनामा धनुषयज्ञ गरिदैछ। ‘विगतका वर्षहरुमा जानकी मन्दिरमै धनुषयज्ञ गरिन्थ्यो,’ जानकी मन्दिरका महन्थ रोषण दास वैष्णवले भने, ‘तर यसवर्ष हामीले रंगभूमि मैदानमा धनुषयज्ञ गरिदैछौं।
त्रेतायुगमा यही रंगभूमि मैदानमा भगवान रामले धनुष तोडेका थिए।’ नाटकीय शैलीमा गरिने सो धनुषयज्ञमा त्रेतायुग जस्तै विभिन्न राजकुमारहरुलाई राखिने गरिन्छ। कैंयो राज्यका राजकुमारहरु धनुष हल्लाउन समेत सक्दैन। तर भगवान रामले एकै हातले धनुष उठाएर तीन टुक्रा पार्छन्। त्रेतायुगकै झझल्को दिनेगरी यसको प्रदर्शन गरिन्छ। साताव्यापी विवाह पञ्चमी महोत्सवमा सबभन्दा विशेष धनुषयज्ञलाई मानिन्छ।
धनुषयज्ञमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवसहित जनकपुरका विभिन्न मन्दिरका सन्त महन्थहरु र प्रदेश सरकारका प्रतिनिधी सहभागी हुनेछन्। साथै हजारौं श्रद्धालुको घुइचो लाग्ने गर्छ। साताव्यापी विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला सम्पन्न भइसकेको छ। आज धनुषयज्ञ भएपछि चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैठौं दिन शुभविवाह र सातौं दिन रामकलेवा हुनेछ।
भारतको अयोध्याबाट यसवर्ष पनि जन्ती आउँदैछन्। पाँचदिन अगाडी अयोध्याबाट हिडेका जन्ती भोलि जनकपुर आइपुग्ने उत्तराधिकारी महन्थ वैष्णवले जानकारी दिए। उनका अनुसार करिब ५ सयको संख्यामा विभिन्न झाँकीसहित आउने जन्तीको स्वागत राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्।