सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा बिक्री हुने पेट्रोलमा खुलेआम कालोबजारी भएको पाइएको छ । पेट्रोल पम्पबाट मात्र प्रज्वलनशील पदार्थको किनबेच गर्न पाईने सरकारको नियम भएपनि सर्लाहीमा भने सानातिना पान पसलदेखि लिएर तरकारी पसलमा समेत पेट्रोलको किनबेच हुँदा समेत नियमन निकायहरु मौन रहँदै आएका छन् ।
बिना लाईसेन्स पेट्रोल बेच्दै आएका ब्यापारीहरुले मनमर्जी रकम असुल्दै आएपनि प्रशासनले मौनता देखाउँदा ग्राहकहरु खुलेआम ठगीको सिकार बन्दै आइरहेका छन् । जिल्लामा रहेका पेट्रोल पम्पले नियमित रुपमा पेट्रोलको विक्री वितरण गर्दै आएपनि अबैध रुपमा पेट्रोल विक्रिमा कालोबजारी भइरहँदा पनि नियमन निकायहरुले अनुगमन गर्न सकेका छैनन् ।
सहर बजारका पसलहरु देखि लिएर गाउँघरमा संचालित किराना पसल, नास्ता पसल ,फेन्सी पसल,पान पसल र तरकारी पसल संचालकहरुले बर्षौंदेखी ‘मिनरल वाटर’ को बोतलमा राखेर पेट्रोल बेच्दै आएका हुन् ।
यसरी मिनिरल वाटरको बोतलमा राखिएको पेट्रोलको मापन पुरै एक लिटर नहुने मलंगवाका स्थानीय युवा आदर्श यादवले बताए । त्यस्ता पसलेहरु पेट्रोल पंप्पबाट ठुला ठुला ड्रम र गैलनमा किनेर लाने र आ–आफ्नो पसलमा एक लिटरको मिनिरल वाटरको बोतलमा भरेर सरकारले तोकेको मुल्य भन्दा बढी रकममा खल्ला बिक्री गर्ने गरेका छन् ।
उनीहरू ग्राहकहरु बाट एक लिटर भनेर बिक्री गरेको पेट्रोलको मूल्य पम्पमा तिर्नुपर्ने मूल्य भन्दा २० देखि ३० रुपैया बढी लिएर बेच्ने गरेका छन् ।प्रति लिटर पेट्रोलमा एक हजार एमएल पेट्रोल हुने भएता पनि ब्यापारीहरुले मिनरल वाटरको बोतलमा बेच्दै आएको पेट्रोल जम्मा ८ सय ५० एमएल मात्रै हुन्छ । प्लास्टिकका भाँडामा राखेको र धुलाकण मिसिएको पेट्रोल प्रयोग गर्दा इन्जिन चाँडै बिग्रने प्राविधिकहरु बताउँछन् ।
व्यापारीले १ लिटरको पैसा लिएपनि कम परिमाण दिएर ठग्ने गरेको उपभोक्ताको गुनासो छ । सर्वसाधारणदेखि जिल्लाका उच्चपदस्थ कर्मचारीहरुले समेत अवैध रुपमा जथाभावी बिक्री गरिएको पेट्रोल किनिरहेका छन् ।