सामूहिक बलात्कारपीडित पूजा भन्छिन्– न्यायाधीश बन्छु
वीरगंज संजाल
५ मंसिर २०७६, बिहीबार ०८:५५
४८८७
काठमाडौं । राजधानीको एक क्याम्पसमा बीए एलएलबी चौथो सेमेस्टरमा अध्ययनरत २३ वर्षीया पूजा (नाम परिवर्तन) आठ वर्षअघि बैतडी जिल्ला सदरमुकाम खलङ्गामा भएको पाशविक र पीडादायी घटना सम्झना पनि गर्न चाहन्नन् ।वि.सं. २०६८ चैतमा गाउँबाट एसएलसीको परीक्षा दिन सदरमुकाम झरेकी पूजामाथि भएको सामूहिक बलात्कारको घटनालाई जतिसुकै बिर्सन खोजे पनि न्यायको चेतनाले भने उनलाई बारम्बार झस्काइरह्यो ।
त्यही चेतनाले बारम्बार झस्काएकै कारण पीडित पूजाले आठ वर्षपछि न्याय पाएकी छन् ।सर्वोच्च अदालतले पूजामाथि भएको पाशविक र पीडादायी अपराधमा संलग्न अभियुक्तलाई दोषी ठहर गरी ११ वर्ष कैद र १० लाख रुपियाँ क्षतिपूर्ति सजाय सुनाएको छ । तर अपराधी अझै फरार छन् ।‘यो फैसलाले मेरो पीडामा मल्हमपट्टी लगाइदिएको छ,’ पूजाले भनिन्, ‘अपराधीलाई छिट्टै पक्राउ गरी कानुनको कठघरामा उभ्याइयोस् ।’
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयाँलको संयुक्त इजलासले यही सोमबार उक्त फैसला सुनाएको हो ।१६ वर्षको किशोरी अवस्थामा भएको त्यो पीडादायी घटना सम्झन्न पनि चाहन्नँ । पुनरावेदन अदालतको आदेशपछि निराश बन्नुभएका पूजा आफ्नो न्यायका लागि मात्र नभई आफूजस्तै अन्य पीडित चेलीबेटीको न्यायका लागि कानुन पढ्न थालेकी छन् ।
उनले व्यवस्थापन संकायमा कक्षा ११ र १२ उत्तीर्ण गरेपछि बीए एलएलबी पढ्न थालिन् । कानुन पढेर राम्रो वकिल वा न्यायाधीश बन्ने सपना उनको छ ।आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले यो समाचार लेखेका छन् ।