ट्राफिकले ओभरलोड बोकेको भारतीय ट्रक कार्वाही नगर्दा हेटौंडामा दुर्घटना
वीरगंज संजाल
३ मंसिर २०७६, मंगलवार १५:१५
४४३९
मकवानपुर | हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित पूर्वपश्चिम राजमार्ग छेउमा पीबी ११ बी आर ५८७५ नम्बरको मकै बोकेको भारतीय मालबाहक ट्रक हेटौंडामा दुर्घटना भएको छ ।
अधिकतम २७ टन मात्रै बोक्ने क्षमता रहेको १८ चक्के सो ट्रकले ३५ टन बोकेर जोगबनी–विराटनगर नाका हुँदै नारायणघाट तर्फ आउँदै गरेको थियो । सो ट्रकले सडक छेउमा रोकिराखेको भ्यानलाई ठक्कर दिएपछि बिजुलीको पोलमा ठक्कर दिएको थियो ।
चालक मलकार सिंहका अनुसार बढी भार (३५ टन) भएकाले ब्रेकले काम नगरेको स्वीकार गरेका छन् । मालबाहक सवारी साधन भारवहन नियमन निर्देशिका–२०७४ अनुसार गन्तव्य सम्म पुग्नु अगाडी न्युनतम ३ स्थानमा तौल पुलमा अनिवार्य तौल गर्नुपर्नेमा दुर्घटनाग्रस्त सो ट्रकले नेपालमा कतैपनि तौल नगरेको भेटिएको छ ।
सो ट्रकले क्षमता भन्दा बढी भार बोकेको भन्दै प्रदेश १ ट्राफिक प्रहरी कार्यालय, इटहरीले १ हजार ५ सय रुपैया जरिवाना समेत गरेको भएपनि नियमानुसार बढी रहेको वस्तु तत्काल सोही स्थानमा नै ओराल्नु पर्ने हुन्छ । तर ट्राफिक प्रहरीले जरिवाना मात्रै गरी भार मिलान नै नगरी तेत्तिकै छोडेको पाईएको छ ।
निर्देशिकाले जारी गरेको जरिवाना सम्बन्धि नियम ९ मा जरिवाना गरी बढी रहेको वस्तु ओरालेर मात्रै अगाडी बढ्न दिनुपर्नेमा ट्राफिक प्रहरीले सो नगरी पठाउँदा बढी भारका कारण ओरालोमा ब्रेकले काम नगर्दा बढी लोडको सो ट्रक हेटौंडामा दुर्घटनामा परेको हो । ट्रकको चलानीमा करीब ३० टन भएपनि भन्सार छल्न ५ टनको बीलबिजक केही नबनाई नेपाल भित्रिएको भेटिएको छ ।
नेपाल सरकारको २०७४ कार्तिक २४ गतेको निर्णय अनुसार मालबाहक भारतीय नम्बरका सवारी साधन बढीमा १५ किलोमिटरसम्म मात्रै (टुक्र्याउन नमिल्ने, ओराल्दा बिग्रने बस्तु, औद्योगिक क्षेत्रको जिप्सन, कोईला कच्चा पदार्थ) नेपाल तर्फ आउन पाउने रहेको छ । तर करीब ३ सय ५० किलोमिटर आउँदा समेत बाटोमा रहेका प्रहरी पोष्टहरुले थाहै पाएनन् । दुर्घटनामा चालक र सहचालक सामान्य घाईते भएका छन् । ट्रकका चालक, सहचालकलाई हेटौंडास्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ ।