बेजोसलाई हराउँदै बिल गेट्स बने विश्वका सर्वाधिक धनी
वीरगंज संजाल
३ मंसिर २०७६, मंगलवार ०६:१८
४८५१
एजेन्सी । शुक्रबार माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स अमेजोनका प्रमुख जेफ बजोसलाई उछिन्दै विश्वका सर्वाधिक धनी व्यक्ति बनेका छन् । ‘ब्लुमबर्ग बिलेनाएर इन्डेक्स’ का अनुसार ११० अर्ब डलर बराबर सम्पतिका मालिक गेट्स विश्वकै धनी व्यक्ति हुन् ।
यसरी दुई वर्षमा पहिलोपटक उनी अमेजोनका बेजोसलाई हराउन सफल भएका हुन् । गत महिना बेजोसले अमेजोनको नाफा अघिल्लो वर्षको तुलनामा २८ प्रतिशत घटेको उल्लेख गरिरहँदा त्यसै समयदेखि बिल गेट्स उनीभन्दा अगाडि आएका हुन् । यता माइक्रोसफ्टको शेयर भने यो वर्ष ४८ प्रतिशतले वृद्धि भएको छ जसले पनि कम्पनीको मूल्य बढाइदिँदा गेट्स १ नम्बरमा आउन सफल भएका हुन् । अक्टोबरमा माइक्रोसफ्टले अमेजोनलाई हराउँदै पेन्टागनसँग १० अर्ब डलर बराबरको ‘क्लाउड–कम्प्युटिङ’ सम्झौता हात पारेको थियो । त्यस पश्चात् नै बेजोस र गेट्सबीच को सर्वाधिक धनी भन्ने प्रकारको ठूलो दौड सुरु भएको थियो ।
त्यस्तै बेजोसले यसै वर्ष पत्नी मेकेन्जीसँग डिभोर्स गर्दा अमेजोनको आधा शेयर बाँड्नु परेकाले पनि उनको कूल सम्पति प्रभावित भएको बताइएको छ । हाल उनी दोस्रो स्थानमा रहेका छन् । गेट्ससले केही समय अगाडि मात्र डेमोक्रेटकी राजनीतिक उमेदवार एलिजाबेथ वारेनले प्रस्ताव गरेको सम्पति करको विषयमा प्रतिक्रिया दिएका थिए । उनले हालसम्म अमेरिकालाई १० अर्ब डलर भन्दा धेरै कर तिरिसकेको बताएका हुन् र सो रकम दुई गुणा बढेर २० अर्ब डलर तिर्नुपरेपनि कुनै आपत्ति नभएको बताए । तर १०० अर्ब डलर तिर्नुपर्दा चाहिँ आफूसँग कति बाँकी रहनेछ भन्ने हिसाब लगाउनुपर्ने उनले भनेका छन् । सिएनएन