बारा-उद्यम विकासका लागि धेरै प्रयास भएका छन् । सरकारी निकाय र विभिन्न गैरसरकारी संस्था तथा निजी क्षेत्रबाट पनि प्रयासहरु नभएका होइनन् । विभिन्न दातृ निकाय र विकास साझेदारको लगानी र संलग्नतामा भिन्न मोडेलका कार्यक्रम पनि उत्तिकै मात्रामा चलाइएको छ । तर, बारामा भने पुख्र्यौली लघुउद्यममा बाँचेकाहरू रोजागरीको लागि भौंतारिँदै हिँडेको अवस्था देख्न सकिन्छ ।
माटाका भाँडा बनाउनेदेखि, आरन चलाउने, गुन्द्री बनाउने, मूर्ति बनाउने तथा तामाका भाँडा बनाउने पेशामा लाग्नेहरु हिजोआज पलायन हुँदैछन् । उत्पादनले बजार नपाएको तथा परम्परागत प्रविधिको समायानुकलु विकास नहुँदा उनीहरु पलायन हुन बाध्य भएका हुन् । ग्रामीण भेगमा उत्पादन हुने परम्परागत सीपयुक्त मौलिक वस्तुले बजार नपाएपछि उद्यमी बनेका ग्रामीण उद्यमीमध्ये केही खुद्रे व्यापारमा लागेका छन् भने केही नोकरी खोज्दै हिँड्न थालेका छन् ।
जिल्लाका दर्जनौं गाउँमा पुस्तौनी उद्यम जानेकाहरू यतिबेला पथलैया—वीरगन्ज औद्यौगिक करिडोरमा ज्यालादारी कामको खोजीमा छन् । आरनको मौलिक शैलीबाट उत्पादित फलामजन्य सामान, परालका उत्पादन, माटो, पित्तल, तामाका भाँडा एवं घरेलु प्रविधिमा उत्पादन गरी बजार पु¥याउँदा ज्यालासमेत उठ्न छाडेपछि उद्यम छोडेर नोकरीको खोजीमा उनीहरू निक्लेका हुन् ।
फेटा ४ का किसनलाल साह आफूले उत्पादन गरेका माटोका भाँडा बिक्री हुन छाडेपछि खुद्रा व्यापारमा लागेको बताउँछन् । उनले जानेको सीप भन्दै विशेष अवसरमा बिक्री हुने दियोपाला कलश भने एक महिनाभर उत्पादन गरी विभिन्न अवसरमा बेच्ने गरेको उनले बताए ।जिल्लामा विभिन्न गैरसरकारी संघसंस्था र स्थानीय तहले ब्युटीपार्लर, सिलाईबुनाई र अनुत्पादक लगायतका तालिममा मात्रै जोड दिँदा मौलिक उत्पादनको आधुनिक र प्राविधिक शैलीप्रती ग्रामीण उद्यमीलाई साक्षात्कार नगराउँदा ग्रामीण उत्पादन ओझेलमा परेको सरोकारवालाको भनाइ छ ।
साहले आफ्नो सीपको माटाका भाँडा बिक्री गर्दा दिनभरीको ५ सयमात्र ज्याला पनि नउठ्ने भएपछि प्लास्टिकका सामानमा आकर्षण बढेको देखेर यही पेशा छानेको र पाँच-सात सयसम्म दैनिक मुनाफा हुने गरेको अनुभव सुनाए । गाउँघरमा अझै पनि सीप विकासका सामान्य तालिममात्रै हुने गरेकोले प्रतिस्पर्धाका लागि नयाँ डिजाइन र प्रविधि नहुँदा लगानी गर्ने पैसासमेत नभएपछि बरु जागिर नै उत्तम हुने भन्दै उनीहरू जागिरको खोजीमा छन् ।
संघ संस्थाले ग्रामीण क्षेत्रमा दिने तालिम पूर्ण सीप, पुँजी र मेसिन नहुँदा पुरै अपूरो बन्ने गरेको छ । कर्तबाकी दिलमायाले १ वर्षअघि ढाका बुनाई तालिम लिइ ढाका बुनेर बजार लैजाँदा लागत मूल्यको आधामा मात्र बिक्री भएपछि निराश भएको बताइन् । बजारमा ढाकाका नयाँ ‘डिजाइन’ आउँदा उनको सीप ओझेल परेको हो । सादा कपडा बुन्न जानेकी उनले बुट्टा भर्न, रङ लगाउन र नयाँ डिजाइनको बनाउन सकिनन् र जानेको सीप पनि छाडिन् ।
स्थानीय तहका ९० प्रतीशत बजेट भौतिक पूर्वाधारमा ब्यापक खर्च भईरहेकोले तालिम, उत्पादन र बजारीकरणका लागि चासो र लगानी नहुँदा ग्रामीण उद्यमी बेरोजगार बन्दै गएको हो । ग्रामीण उद्यमीहरूलाई आधुनिक उपकरणको ज्ञान र लगानी मुख्य चुनौती भएको समाजशास्त्रका अध्येता कृष्ण सिग्देल बताउँछन् । उनी भन्छन्, “मुख्य जोड स्थानीय तह र राज्यकै हुनु पर्छ ।”karobardaily