प्रदेश ३ का १० जिल्लामा शीत भण्डारण निर्माण गरिँदै
वीरगंज संजाल
२९ कार्तिक २०७६, शुक्रबार १४:०४
५९७९
हेटौंडा । प्रदेश-३ सरकारले प्रदेशका दश जिल्लामा फलफूल तथा तरकारी भण्डारणका लागि शीत भण्डार निर्माण थालेको छ । सरकारले मकवानपुरको थाहा नगरपालिकाबाट शीत भण्डारको काम थालेको हो ।किसानका उत्पादनहरुलाई भण्डार गरेर राख्न सहज होस् भन्ननका लागि साझेदारीमा शीत भण्डार निर्माणका लागि सरकारले मोटो रकम खर्चन थालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले १० जिल्लामा डीपीआर निर्माण गरेर चालु आर्थिक वर्षमा निर्माण गर्नका लागि ४५ करोड रुपैयाँ वजेट छुट्याएर काम थालेको हो । पहिलो चरणमा सरकारले पाँच जिल्लामा काम सुरु गरिसकेको छ । सरकारले चितवन, रसुवा, दोलखा, सिन्धुलीमा शीत भण्डार निर्माण गर्ने काम सुरु गरेको मन्त्री दावा दोर्जे लामाले बताए ।शीत भण्डार निर्माणको काम भने प्रदेशका उपत्यका भन्दा बाहेकका जिल्लामा हरेक जिल्लामा एक एक वटा निर्माण गरिएपनि दोलखा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा दुई/दुईवटा निर्माण गर्ने मन्त्रालयले जनाएको छ ।
प्रदेशमा ६६ करोड खर्च गरिँदै
प्रदेश ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ जिल्लामा घोषित कृषिको पकेट तथा ब्लकहरूमा करिब ६६ करोड रुपैयाँ खर्च गर्ने भएको छ।
मन्त्रालयले नयाँ र पुराना गरी ४ सय ९५ वटा पकेट क्षेत्र र ५६ वटा ब्लकलाई चालु आर्थिक वर्षमा ६६ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको हो।
पुराना पकेट क्षेत्रहरूको लागि ११ करोड ८७ लाख छुट्याइएको छ भने नयाँ पकेट क्षेत्रहरूको लागि ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै नयाँ ब्लकहरूको लागि चालु अनुदानतर्फ १५ करोड र पुराना ब्लकहरूको लागि ८ करोड ५५ लाख रुपैयाँ चालु अनुदान छुट्याइएको प्रवक्ता डा. पाण्डेले वताए ।
पकेटका लागि मकवानपुरबाट कोदो र गहत, चितवनमा तरकारी, सुन्तला अलैँची, मौरीपालनको माग रहेको छ । धादिङमा सुन्तला, कागती, अदुवालगायतको पकेट क्षेत्र बनाउने गरी प्रस्ताव आएको छ भने नुवाकोटमा तरकारी, अदुवा, प्याजलगायतका कृषि उपजको ब्लक तथा पकेट क्षेत्रमा माग गरिएको उनले जानकारी दिए।