सुकुटे बस दुर्घटना : तीन वर्षीया बालिका अझै बेपत्ता
वीरगंज संजाल
१९ कार्तिक २०७६, मंगलवार १३:२६
२९४१
दोलखा | दोलखाको शैलुङ गाउँपालिकाले आइतबार बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारका लागि प्रतिव्यक्ति २० हजारका दरले रकम सहयोग गर्ने भएको छ ।
दुर्घटनामा ज्यान गुमाएका शैलुङ गाउँपालिकाका १४ जनासहित १८ जना र एक बेपत्ताका परिवारलाई सहयोग स्वरुप रकम उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । सुकुटे बस दुर्घटनामा बेपत्ता भएकी ३ वर्षीया बालिकाको अवस्था अझै थाहा हुन सकेको छैन ।
आमा बुवा र दाइसहित बसमा सवार शैलुङ गाउँपालिका वडा नम्बर ४ की तीन वर्षीया बालिका रियुना लामा तामाङ अहिलेसम्म बेपत्ता हुनुहुन्छ । तामाङको सिन्धुपाल्चोक प्रहरीले तीव्र रुपमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदिश रेग्मीले जानकारी दिनुभयो
आफन्तले शव बुझे
सुकुटे बस दुर्घटनामा ज्यान गुमाएकाको शव आफन्तले बुझेका छन् । मृतकका आफन्तले सिन्धुपाल्चोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रबिसेमा राखिएका १६ जनाको शव बुझेका हुन् । शवको पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल बनेपामा रहेको २ वटा शव अस्पतालबाटै आफन्तले बुझेका छन् ।
दोलखाको मागादेउरालीबाट काठमाण्डौ जाँदै गरेको बस आइतबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा सुनकोशी नदीमा खस्दा शैलुङ गाउँपालिका वडा नम्बर ५ का ६ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का २ जना र वडा नम्बर २ का १ जना गरी कुल १४ जनाको ज्यान गएको थियो । भीमेश्वर नगरपालिका वडा नम्बर ९ की १ जना र अन्य जिल्लाको ३ गरी १८ जनाको ज्यान गएको थियो ।