सर्पको टोकाइबाट मात्र विश्वभर दैनिक २०० मानिसको मृत्यु हुने गरेको छ । विषालु सर्पकै टोकाइबाट चामत्कारिक रुपमा बच्न सफल थाइल्यान्डका ‘फायर फाइटर’ पिन्यो पुकपिन्यो भन्छन्, म सर्पले टोकेको १५ मिनेटमै अस्पताल पुगेको थिएँ जसकारण म बच्न सफल भएको हुँ । पहिले त डाक्टरहरुले मलाई ‘किङ कोब्रा’ ले टोकेको भनेर विश्वास गर्नै सकेका थिएनन् । त्यसपछि मैले म सर्पहरुबारे सिकाउने प्रशिक्षक भएको कुरा बताएँ र वास्तवमै म यिनका प्रजाति राम्ररी पहिचान गर्न सक्छु ।’ त्यसपछि पनि उनले आफ्नो बुढी औँलाबाट मृत सेल निकाल्न दुई महिनासम्म अस्पताल गइरहनुपर्यो भने शल्यक्रिया पनि गराएका थिए ।
तर सर्पले टोकेका सबै मानिस उनी जसरी अस्स्पताल नजिकै बसेका हुँदैनन् भने उनीहरुमा सर्पको प्रजातिबारे उचित ज्ञान पनि नहुने गर्दा उपचारमा कठिनाइ हुने गरेको छ । सर्पको टोकाइबाट मृत्युका साथै वार्षिक चार लाख मानिसहरु अपाङ्क पनि हुने गरेका छन् । सर्पको टोकाइको उपचार गरिने ‘एन्टि भेनोम’ सुईको विश्वव्यापी अभावका कारण पनि विशेषगरी एसिया र सब साहारा अफ्रिकाका ग्रामीण क्षेत्रमा यो समस्याले गम्भीर रुप लिँदै गइरहेको बताइन्छ ।
बेलायतको वेलकम ट्रस्ट रिसर्च च्यारिटीका अनुसार सर्पको टोकाइले कुनैपनि क्षेत्रीय बिमारीको तुलनामा अत्याधिक मानिसको ज्यान लिनुका साथै अपाङ्गता पनि बढाइरहेको छ । वेल्कमका विज्ञान निर्देशक प्रोफेसर माइक टर्नर भन्छन्, ‘सर्पको टोकाइ वास्तवमा उपचार गर्न मिल्ने किसिमको अवस्था हो । किनकी एन्टि भेनोमको पहुँच हुने हो भने मान्छे जिवित रहने सम्भावना प्रबल हुन्छ । यस्तोमा विषालु सर्पको टोकाइबाट यति धेरै सङ्ख्यामा मानिसको मृत्यु नहुनु पर्ने हो ।’
यस विषयमा विश्व स्वास्थ्य संगठनले पनि यही धारणा व्यक्त गर्दै आएको छ । यो समस्याको निवारणकै लागि संगठनले नयाँ रणनीति सहित अभियान थालेको छ र यसलाई वास्तवमै विश्वको सबैभन्दा ठूलो अदृश्य संकट भएको व्याख्या गरेको छ । यो अभियानले सर्पको टोकाइबाट हुने मृत्यु र अपाङ्गताको दरलाई २०३० सम्ममा आधा दरले घटाउने लक्ष्य राखेको छ । यसका लागि संगठनले १ करोड ३६ लाख डलर लगानी गर्ने समेत बताएको छ जस अन्र्तगत विभिन्न विकट समुदायलाई सर्प सम्बन्धी ज्ञान दिइने र प्रभावकारी उपचार उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवाहरुमा पनि सुधार ल्याउने बताइएको हो ।
यसरी वेल्कम ट्रस्टले आगामी सात वर्षमा यसका लागि १० करोड डलर बराबर खर्च गर्नमा जोड दिइरहेको छ । सो रकम यो समस्याको समाधानका लागि प्रस्ताव गरिएको हालसम्मकै ठूलो रकम हो । किनकी पछिल्लो दशकसम्म यसका लागि केबल ३ करोड ८० लाख डलर निर्धारण गरिएको थियो ।
यता वैज्ञानिकहरुले पनि सुरक्षित, कम मूल्य पर्ने र प्रभावकारी एन्टि भेनोम निर्माणका लागि नयाँ प्रक्रिया अपनाउन जरुरी भएको बताइरहेका छन् । किनभने एन्टि भेनोम निर्माण गर्ने प्रक्रिया अहिलेसम्म पनि १९ औँ शताब्दीको भन्दा धेरै फरक छैन । भेनोम निस्कासन गर्न जुन सर्पले टोकेको हो त्यसैको विष निकाल्नुपर्छ र रगतमा यसको प्रतिरक्षात्मक प्रतिक्रियाको जाँचका लागि घोडामा परीक्षण गर्ने गरिएको छ । जसले सो विषसँग लड्न त्यस विरुद्ध नयाँ तत्व उत्पादन गर्दछ । यसपछि रगतमार्फत सो तत्व निकालेर शुद्धिकरण गरि यसमा हुने एन्टिबडिलाई नै भेनोमका रुपमा प्रयोग गर्ने गरिएको छ ।
यसरी एन्टि भेनोम घोडाबाट आउने हुँदा घोडाको प्रोटिन मानिसमा इन्जेक्ट गर्नु जोखिमपूर्ण हुनु स्वभाविक भएको वेल्कमका अर्का वरिष्ठ विशेषज्ञ फिल प्राइस बताउँछन् । उनले भने, ‘यसबाट चिलाउने, पोल्ने जस्ता साधारण असरदेखि ‘एनाफिलेक्सिस’ जस्तो प्राणघातक रियाक्सन हुन सक्छ । त्यसैले एन्टि भेनोम धेरै राम्रो उपचार होइन । किनकी धेरै भेनोम अरु औषधि जसरी वैज्ञानिक रुपमा परीक्षण गरिएका हुँदैनन् ।’
त्यस्तै औषधि उत्पादक कम्पनीहरुका लागि पनि भेनोमको व्यवसाय फाइदाकारक साबित भइरहेको छैन । २०१० मा मात्र सनोफी पास्चरले ‘एफएभी–अफ्रिकी एन्टि भनोम’ को उत्पादन बन्द गराएको थियो जुन विभिन्न अफ्रिकी सर्प विरुद्ध प्रभावकारी साबित हुने गर्दथ्यो । यस्तोमा वेल्कमले प्रस्ताव गरेको नयाँ लगानी रकम युनिभर्सल एन्टिभेनोम उत्पादन गर्ने भनिएको छ । यसका साथै उनीहरुले एन्टि भेनोमको विकल्प खोज्ने र अहिलेको निर्माण तरिकामा समेत अधिक सुधार ल्याउने बताएका छन् ।
विश्वको सबैभन्दा ठूलो किलर अफ्रिका, मध्य पूर्व, भारत र पाकिस्तानमा पाइने ‘स–स्केल्ड भाइपर’ लाई मानिन्छ । त्यसैगरी ‘रसेल्स भाइपर’ पनि अत्यन्तै खतरनाक मानिन्छ जुन भारत लगायत दक्षिणपूर्वी एसिययामा पाइन्छ । वेल्कमका अनुासर हाल विश्वसँग आवश्यक भन्दा आधार कम एन्टिभेनोम रहेको छ । त्यस्तै कतिपय स्थानमा भएका एन्टिभेनोम क्षेत्रमा आधारित हुने हुँदा सबै अवस्थामा प्रभावकारी नहुने बताइएको छ । यसरी विश्वका केबल ६० प्रतिशत विषालु सर्प विरुद्धका मात्र एन्टि भनोम उत्पादन भएका छन् । विशेषगरी अफ्रिकामा यो समस्या व्यापक बन्दै गएको छ किनकी त्यहाँ ९० प्रतिशत एन्टि भेनोमले काम गर्दैन भने उपलब्ध भएमा पनि अत्याधिक महङ्गो हुने गर्दछ । तर सर्प टोकाइको शिकार हुने पीडितहरु प्रायः गरिब घरबाट आउने गरेका छन् । २०१३ को एक अध्ययन अनुसार भारतमा सर्प टोकाइका ४० प्रतिशत पीडित उपचारका लागि ऋण लिन बाध्य हुने गरेका छन् ।
त्यसैले पनि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी बनाउने र दुर्गम क्षेत्रहरुमा यसको रोकथामका लागि शिक्षाका अभियान चलाउनेप्रति पनि ध्यान दिइने बताएको छ । साथै समुदायमा सबैलाई विषालु सर्पका प्रजाति चिनाइने र व्यवहारिक परिवर्तन ल्याउनमा जोड दिने बताएको छ जस्तै चप्पल जुत्ता लगाउने । सिएनएनबाट