बुनिलाल हत्या प्रकरणः प्रहरी अनुसन्धान अन्तिम चरणमा
वीरगंज संजाल
१५ कार्तिक २०७६, शुक्रबार ०८:३४
३७३३
वीरगंज | वीरगंज–१६ नगवा निवासी बुनिलाल चौरसियाको हत्या घटनाको अहिलेसम्म टुङ्गो लागेको छैन । कात्तिक ७ गते बेलुकी भएको हत्याकाण्ड ८ गते दिउँसो सार्वजनिक भएदेखि शुरू भएको अनुसन्धानमा हत्याका योजनाकारमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरे पनि मुख्य हत्यारालाई अभैmसम्म पक्राउ गर्न सकेको छैन ।प्रहरी अनुसन्धान अन्तिम चरणमा रहेको र केही दिनमा घटना सार्वजनिक हुने पर्सा प्रहरी स्रोतले जनाएको छ ।
अनुसन्धानको कारण अहिलेसम्म प्रहरीले चौरसिया हत्याकाण्डबारेमा प्रेसलाई जानकारी गराएको छैन । अनुसन्धान भइरहेको छ, दुई/चार दिनमा तथ्य सार्वजनिक गर्ने प्रहरीले बताउँदै आएको छ । कात्तिक ७ गते बेलुकीपख चौरसियाको वीरगंज–६ माईस्थान मन्दिरपछाडि दीपककिशोर अग्रवालको घरमा हत्या भएको पुष्टि भइसकेको छ । हत्याको योजनामा संलग्न रहेको आशङ्कामा प्रहरीले दीपक र निजकी पत्नी निधि अग्रवाललाई कात्तिक ८ गते बेलुका पक्राउ गरिसकेको छ ।प्रहरी अनुसन्धानबाट हत्यामा निधिको संलग्नता देखिएको स्रोतले जनाएको छ ।
भारतको झारखण्डमा माइत रहेको निधिले त्यहीबाट सार्पसूटर ल्याएर हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरी स्रोतले त्यहाँ उपलब्ध सिसिटिभी फुटेजबाट हत्यामा घरपरिवारबाहेक अपरिचित चारजनाको संलग्नता देखिएको बताएको छ ।
सिसिटिभी फुटेजमा घरभित्र अपरिचित चारजना प्रवेश गरेको, अबेर रातिसम्म उनीहरू ननिस्केको र राति ११ बजेपछि शवलाई घिसार्दै गाडीमा हालेको देखिएको छ ।सिसिटिभीबाट गाडीको नम्बर भने पुष्टि हुन नसकेको प्रहरी स्रोतले जनाएको छ । घटनामा संलग्न हत्याराहरू पक्राउ गर्ने काम अन्तिम चरणमा रहेको प्रहरी स्रोतले जनाएको छ । अनुसन्धान भइरहेकाले थप जानकारीहरू बाहिर ल्याउँदा हत्यारा उम्कन सक्ने प्रहरीको भनाइ छ ।