नयाँ दिल्ली, | भारतले औपचारिक रूपमै बिहीबार विवादित जम्मु र कश्मीरलाई दुई संघीय भूभागमा विभाजन गर्दैछ । विगत तीन महिनादेखि सुरक्षा व्यवस्था कडा बनाइएको यो क्षेत्रमा नयाँ दिल्लीले आफ्नो पकड थप मजबुत बनाउने उद्देश्यले जम्मु र कश्मीरलाई दुई प्रान्तमा विभाजन गर्न लागेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।
जम्मु र कश्मीरलाई औपचारिक विभाजन गर्ने मिति नजिकिँदै गर्दा सो क्षेत्रमा सडक प्रदर्शनमा वृद्धि भएका छन् भने पछिल्ला केही साताभित्र सो क्षेत्रभन्दा बाहिरबाट आक्रमण गरेर लडाकुहरुले कैयौंको ज्यानसमेत लिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी पार्टी भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले गत अगस्टमा कश्मीरले पाउँदै आएको विशेषाधिकार खारेज गर्ने निर्णय गरेको थियो ।
मोदी सरकारले कश्मीरको विशेषाधिकार खारेज मात्रै गरेन, सो क्षेत्रलाई नयाँ दिल्लीले प्रत्यक्ष शासन गर्ने गरी दुई राज्यमा विभाजनसमेत ग¥यो, जसमा एउटा जम्मु–कश्मीर अनि अर्को बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको ग्रामीण क्षेत्र रहेको लद्दाक रहेका छन् । विधेषाधिकार खोस्ने निर्णय लगत्तै मोदी सरकारले मुसलमान बाहुल्यता रहेको कश्मीर उपत्यकामा हजारौं सुरक्षाकर्मी तैनाथ पनि गरेको थियो । भारत प्रशासित कश्मीर उपत्यकामा विखण्डनवादी शक्तिहरुले दशकौंदेखि लडाइँ लडिरहेका छन् । एजेन्सी