कात्तिक १३ गते दिइएकाे सार्वजनिक बिदाको न्हुदँ राष्ट्रिय समारोह समितिद्वारा स्वागत
वीरगंज संजाल
८ कार्तिक २०७६, शुक्रबार १३:५१
४०७३
काठमाडौँ | नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएकामा त्यसको स्वागत गरेको छ ।
समितिका अध्यक्ष रमेश महर्जनले आज जारी गर्नुभएको विज्ञप्तिमा तिथि टुट हुने र दोहरिने समस्याले उक्त समुदायले १३ गते माग गरेकामा सरकारले त्यसलाई सकारात्मकरूपमा लिई सार्वजनिक बिदा दिन गरेको निर्णयले सांस्कृतिक परम्परा र विधि व्यवहारको महत्व सबैले आत्मसात गर्नुपर्ने सन्देश दिएको जनाइएको छ ।
तिथिअनुसार चाडपर्व जात्रा मनाउने सिलसिलामा व्यवहारिकता र सांस्कृतिक पक्षको महत्व रहेको उल्लेख गरिएको विज्ञप्तिमा यस्ता पर्वले सामाजिक सांस्कृतिक एकता कायम गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
आगामी दिनमा पञ्चाङ्ग निणार्यक समितिले तिथि–मिति घटबढ हुँदा सोहीअनुसार छलफल गरी समस्याको अग्रिम समाधानका लागि पहल गर्न आग्रह गरिएको छ । सरकारले राष्ट्रिय संवत् घोषणा गरिसकेको नेपाल संवत् (नयाँ वर्ष) कात्तिक १२ गते आ–आफ्नो टोल शहरमा हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाउन सबैमा अनुरोध गरिएको विज्ञप्तिमा काठमाडौँको वसन्तपुरमा उक्त दिन बिहान ७ बजे भेला भई सांस्कृतिक र्यालीमा सहभागी हुन आग्रह गरिएको छ ।