बर्दिबास नगरपालिका–१२ का वडाध्यक्ष साहले सेवाग्राहीमाथि हातपात गरेपछि…
वीरगंज संजाल
६ कार्तिक २०७६, बुधबार १४:५३
५१८३
बर्दिबास । महोत्तरीका बर्दिबास नगरपालिका–१२ का वडाध्यक्ष रामकिशोर साहले सेवाग्राहीलाई हातपात गरेका छन् । न्याय माग्न वडा कार्यालय पुगेका बिजलपुराका २३ वर्षीय सुनिलकुमार महतोलाई वडा अध्यक्ष साहले हातपात गरी घाइते बनाएका हुन् ।
यसै प्रकरणमा प्रहरीले वडा अध्यक्षविरुद्ध उजुरी दर्ता गर्न नमानेको पीडित महतोले बताए । यसका साथै न्यायको लागि सहयोग गरिदिन पीडितले सञ्चारकर्मी समक्ष पनि आग्रह गरेका छन् ।
दुई साताअघि पीडित महतोले चोरलाई कारवाही गर्न वडा कार्यालयमा निवेदन दिएका थिए । गत मंगलबार वडा कार्यालयले सुनिललाई बोलाएको थियो । छलफलका क्रममा विवाद भएपछि वडाध्यक्ष र उनका भाई राजकुमार साहले महतोमाथि निर्घात हातपात गरेका थिए ।
घटना स्थलबाटै फोन गरेर प्रहरीसँग गुहार मागेका सुनिलका बुवा लक्ष्मेश्वर महतोलाई पनि उनीहरुले हातपात गरेका पीडितको भनाइ छ । सुनिलको टाउको र खुट्टामा चोट लागेको छ । बर्दिबासस्थित बेटर नेपाल हस्पिटमा प्राथमिक उपचारपछि थप उपचारको लागि उनलाई काठमाडौं पठाइएको थियो । उपचारपछि पीडित महतो घर पर्किइसकेका छन् ।
‘एक वर्षअघि वडा अध्यक्ष वडा कार्यालयको टेबलमा खुट्टा तन्काएर सुत्नुभएको थियो । मैले फोटो खिचेर पत्रकारलाई दिए । समाचार भाइरल भयो ।’ पीडित महतोले भने–‘वडा अध्यक्षले मलाई गाली गर्नुभयो । न्याय माग्न वडा कार्यालय जाँदा, तँ होइन मेरो फोटो खिचेर भाइरल बनाउने ? तँलाई खोजिरहेको थिएँ । आज फेला परिस्, भन्दै हातपात गर्नुभयो । उहाँको भाईले पनि हात हालेपछि म बेहोस् भएछु ।’
वडा अध्यक्ष वडा कार्यालयको टेबलमा खुट्टा तन्काएर सुतेको समाचार २०७५ साउन ३० गते अन्नपूर्ण पोस्ट् अनलाइनमा प्रकाशित भएको थियो । जनप्रतिनिधिबाट कानून विपरित काम भएको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल महोत्तरीका अध्यक्ष प्रेम भुजेलले बताए । ‘वडा अध्यक्षको गतिविधिले मानव अधिकार हनन् भएको छ । उहाँलाई हदैसम्मको कारवाही हुनुपर्छ’ उनले भने ।
वडाध्यक्षले आफूलाई पीडित सुनिलले तथानाम गाली एवं अपमान गरेको भन्दै घटनालगतै इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी गरेका थिए । आफूले सुनिललाई हातपात नगरेको वडा अध्यक्ष साहको दाबी छ