दाद छालामा आउने एकप्रकारको समस्या हो । चिकित्सकीय भाषामा यसलाई इग्जिमा भनिन्छ । साधारणतया दाद शरीरमा हुने प्रतिक्रिया हो, जुन भित्री र बाहिरी दुई कारणले हुने गर्छ ।
लक्षण
आममानिसले छालामा आउने सबैखाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ, चिलाउने दाद (एग्जिमा) र फंगल इन्फेक्सन ।
फन्गल इन्फेक्सन औँलाको बीच भागमा, काखी, कपाल, महिलामा स्तनमुनि अर्थात् अप्ठ्यारो अंगमा देखापर्ने गर्छ । फंगस, जसलाई ढुसी पनि भनिन्छ । यस्तो जीवाणुले जीवित तथा निर्जीव वस्तुको शरीरलाई संक्रमण गरेर नष्ट बनाइदिन्छ ।
छालामा चिलाउने फोका उठ्ने दादलाई एग्जिमा भनिन्छ । यो तीन किसिमको हुन्छ, एप्टिच्युड, सब एप्टिच्युड र क्रोनिक । एप्टिच्युड एग्जिमाको पहिलो चरण हो, यसमा छाला चिलाउने, फुस्रो हुने गर्छ । यस्तै, सब एप्टिच्युडमा दाद आएको ठाउँमा पाप्रा बस्ने, फोका उठ्ने हुन्छ । क्रोनिकमा आइपुग्दा दाग बस्ने, कत्ला निस्कने र घाउ भएमा संक्रमण हुने हुन्छ ।
दाद आएपछि फोका उठ्ने, चिलाउने, छाला निस्कने, छाला बाक्लो हुने, कालो हुने कत्ला निस्कने, र कन्याउँदा घाउ भई इन्फेक्सन हुने हुन्छ ।
यो सबै उमेर समूहका मानिसमा देखापर्छ । विशेषगरी दुई वर्षमुनिका बालबालिका यसबाट अत्यधिक पीडित भएको पाइन्छ । बच्चाको छाला अति संवेदनशील हुने भएकाले बाहिरी पदार्थको सम्पर्कमा आउँदा दाद आउँछ ।
रोकथाम
यो एक किसिमको एलर्जी भएकाले छालामा असर पार्ने पदार्थबाट टाढा रहनुपर्छ ।
सरसफाइमा विशेष ध्यान दिने, तेल र मोस्चराइजरको प्रयोग गरी छाला नरम राख्ने गर्नुपर्छ ।
छालामा एलर्जी हुनबाट बचाउन सकेसम्म सुतीको कपडा प्रयोग गर्नु उचित मानिन्छ । उनीजस्ता कपडा छालाको सीधै सम्पर्कमा आउने गरी प्रयोग गर्नुहुँदैन ।
छुँदा, कन्याउँदा एक ठाउँबाट अर्को ठाउमा फैलिने गर्छ । त्यस्तै, एक–अर्काले प्रयोग गरेका तौलिया, साबुन, फोन, रिमोट आदि वस्तुको सम्पर्कबाट पनि दाद सर्ने सम्भावना अत्यधिक हुन्छ ।
बन्द कोठामा बस्दासमेत दादको समस्या देखिने भएकाले कोठा खुला राख्नुपर्छ । यस्तै, कडा साबुनको प्रयोग नगर्ने, मर्करीयुक्त वस्तुको प्रयोग नगर्ने, बच्चालाई प्राकृतिक वातावरणमा मात्र खेल्न दिने गर्दा दादको जोखिमबाट बच्न सकिन्छ ।
उपचार
दाद फैलिन नदिन चिकित्सकको सल्लाहमा छाला नचिलाउने औषधिको प्रयोग गर्न सकिन्छ । एन्टिस्टामिन, एन्टिएलर्जिक मल्हम, लोसन, क्रिम आदि औषधिबाट अवस्था हेरी उपचार गर्न सकिन्छ ।