मोबाइलको लत छुटाउन युवालाई सुधार केन्द्र नै लानुपरेपछि
वीरगंज संजाल
५ कार्तिक २०७६, मंगलवार ०५:३१
५०५५
एजेन्सी । एक १६ वर्षीया युवतीले बिहानको चार बजे मात्र आफूले मोबाइल फोनमा १३ घण्टा बिताइसकेको आभास गरिन् । त्यसको तीन घण्टापछि उनी कलेजका लागि तयार हुनुपर्ने थियो । यसरी दक्षिण कोरियाकी यु छेरिन आफूमा मोबाइल फोनको गम्भीर लत बसिसकेको महसुस गरेपछि सरकारले सञ्चालन गर्दै आएको सुधार केन्द्रमा भर्ना भएकी हुन् । उक्त कार्यक्रममा मोबाइल फोन नचलाई बस्नै नसक्ने युवालाई यस बानीबाट छुटाउने प्रयास गरिन्छ ।
यु भन्छिन्, “मलाई दिमागमा बारम्बार अब मैले फोन बन्द गरेर सुत्नुपर्छ भन्ने आइरहेको थियो तरपनि मैले फोन राख्नै सकिन र चलाइरहेँ । त्यसैले म बिहानसम्म मोबाइलमै भइरहेँ ।”
दक्षिण कोरिया विश्वमै सबैभन्दा धेरै मोबाइल फोन प्रयोग गर्नेमा पर्दछ । २०१८ मा मात्र ९८ प्रतिशत किशोरकिशोरीले मोबाइल फोन प्रयोग गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ । अहिले धेरैमा फोनको अत्याधिक लतको समस्या देखा परिरहेको छ । गत वर्ष पनि १० देखि १९ वर्षका युवा आफ्नो फोनमा चाहिनेभन्दा धेरै नै निर्भर रहने गरेको विज्ञान तथा सूचना संचार मन्त्रालयले जानकारी दिएको थियो । यसले युवाको आत्मनियन्त्रण क्षमतामा कमी ल्याउनुका साथै अन्य थुप्रै भयानक परिणाम निम्त्याएको बताइएको छ ।
यसरी २००७ मा सरकारी निकायले सुरु गरेको सुधार केन्द्रको कार्यक्रमलाई २०१५ मा मोबाइल फोन लतको समस्या समावेश गरि विस्तार गरिएको थियो । यस वर्ष पनि मन्त्रालयले देशभर १६ वटाभन्दा बढी केन्द्र सञ्चालन गरेको हो जसमा ४०० बढी स्कुले विद्यार्थी सहभागी भएको बताइएको छ । केही अभिभावकका लागि त यो नै अन्तिम उपाय थियो । उत्तरी ग्योङ्गी प्रदेशमा क्याम्प सञ्चालन गर्दै आएका केन्द्रका अध्यक्ष यु सुनदक भन्छन्, “मेरो विचारमा उनीहरु अन्तिम विकल्पका रुपमा विशेषज्ञबाट मद्दत लिन हतारिएकाले नै आफ्ना छोराछोरीलाई हामीकहाँ पठाउँछन् ।”
पछिल्लो तथ्याङ्कमा पनि दक्षिण कोरियाका तीन मध्ये एक युवालाई आफ्नो छेउमा मोबाइल हुँदा अरु काममा ध्यान लगाउन कठिन हुने गरेको पाइएको हो । त्यस्तै १०–१९ वर्षका ४३ प्रतिशतलाई आफ्नो फोनमा बिताउने समय नियन्त्रण गर्न कठिन हुन्छ भने २५ प्रतिशतमा यसैका कारण घरमा ठूलो झगडा र विवाद पर्ने गरेको छ अनि १७ प्रतिशतमा चाहिँ स्वास्थ्य समस्या देखिएको हो ।
यु आफ्नो स्कुलमा मध्यम स्तरकी विद्यार्थी थिइन् । तर उच्च शिक्षाका लागि भर्ना भएपछि भने उनी कक्षाको सबैभन्दा कमजोर विद्यार्थी बन्न पुगिन् । किनकी उनी धेरै रातिसम्म आफ्नो फोनमा फेसबुक लगायत सामाजिक संजाल स्क्रोल गर्दै बस्थिन् भने क्यामरा एप, ‘स्नो’ चलाइरहन्थिन अनि त्यसबाट पनि मन हटेपछि साथीसँग ‘काकाओटक’ म्यासेन्जर एपमा कुरा गर्दै बस्थिन् । उनी भन्छिन्, “बिस्तारै मेरा सामु वास्तविकता हराउँदै गएको जस्तो महसुस हुँदै गयो । किनकी मैले स्कुलमा साथीहरुसँग रमाइलोगरी समय बिताए पनि सबै सपना जस्तो लाग्थ्यो ।” यसैकारण उनका पिता यु जेओ अत्यन्तै चिन्तित भएको बताउँछन् । उनको मोबाइल फोन अत्याधिक प्रयोग गर्ने बानीकै कारण परिवारका सदस्यबीच कुराकानी हुनै छाडेको र मोबाइलको कुरा उठाउँदा पनि ठूलै विवाद पर्ने गरेको उनले बताए । त्यसैले उनले आफ्नी छोरीका लागि दैनिक दुई घण्टा मात्र मोबाइल चलाउने नियम राखिदिए तर यसले पनि काम गरेन ।
यस्तोमा पछि छेरिनले आफैँ सुधार केन्द्रमा सहभागी हुने निर्णय गरेकी हुन् जहाँ पुगेर गेटमै उनले आफ्नो मोबाइल अफ गरेर त्यहाँका अधिकारीलाई बुझाउनुपर्यो । यसरी वर्षौँपछि मात्र उनले आफ्नो फोन अफ गरिन् र १२ दिनको सुधार कार्यक्रममा भाग लिएकी हुन् ।
उक्त सुधार केन्द्र निःशुल्क सञ्चालन हुँदै आएको छ । तर खानाको भने छुट्टै तिर्नुपर्ने हुन्छ । त्यहाँ सबै किशोरकिशोरीहरुलाई चित्रकारिता, खेलकुद लगायत विभिन्न कलात्मक क्रियाकलापमा संलग्न हुन लगाइन्छ । अनिवार्य रुपमा सबैले परामर्श कक्षा लिनैपर्ने हुन्छ जहाँ उनीहरुको फोन प्रयोगको विषयमा छलफल गरिन्छ । प्रायः यस्ता केन्द्र सहरभन्दा टाढा प्राकृतिक वातावरणयुक्त ठाउँमा स्थापित गरिएको हुन्छ , जसले पनि युवालाई फोन स्वीच अफ गर्न मद्दत गर्ने गरेको बताइएको छ । त्यहाँ खेलकुद मैदानदेखि इन्डोर स्वीमिङ पुलसम्मका सेवा हुन्छन् ।
अध्यक्ष सुनदकका अनुसार कार्यक्रमका पहिलो एकदुई दिन युवाको मुहार अँध्यारो देखिन्छ । तर तेस्रो दिन देखि नै तिनमा परिवर्तन आउन सुँरु हुन्छ । उनीहरुलाई साथीसँग समय बिताउन रमाइलो लाग्न थाल्छ । यसरी समयमै युवाको समस्या समाधान गरेमा भविष्यका जोखिमबाट टाढा राख्न सकिने सरकारको धारणा रहेको छ । तापनि यस्ता केन्द्रको सफलता युवामै निर्भर हुन्छ जो वास्तवमै आफूमा परिवर्तन ल्याउन समर्पित हुन आवश्यक रहेको मनोविश्लेषक डाक्टर लि जेवन बताउँछन् ।
युवाले पहिले त आफ्नो पढाइको बोझ अभिभावकको दबाब लगायतका स्टे«सबाट मुक्त रहन स्मार्टफोन चलाउँछन् । तर बिस्तारै उनीहरुलाई मोबाइलले मात्र जीवनमा खुसी दिलाउन सक्छ भन्ने भान हुन्छ र उनीहरु त्यसका लागि स्कुल र पढाइलाई त्याग्न पनि तयार हुन्छन् । यसले उनीहरुलाई साथी र परिवारजनसँग टाढा गराएर एक्लो बनाउँदै लैजान्छ भने डिप्रेसन हुने खतरा पनि हुन्छ । यस्तोमा क्याम्पमा १२ दिन बिताइसकेपछि युले पहिले आफूले चाहेर पनि मोबाइल फोन अफ गर्न नसक्ने गरेको तर अहिले भने तुरुन्तै बन्द गरि आफूलाई नियन्त्रणमा राख्ने गरेको बताइन् । तापनि आफ्ना अभिभावकको करले मात्र क्याम्पमा आउने साथीहरुका लागि भने यो कार्यक्रम प्रभावकारी नभएको उनको भनाइ छ । सीएनएन